बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियोको व्यस्त सडक, प्रचण्ड गर्मी, सडकदेखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, रेष्टुरेन्ट सानो भए पनि बाहिर पाहुनाहरू करीनान खान लाईन लागेर उभिरहेका छन् । जापानीहरूको राम्रो बानी-सानो कुरामा पनि ठ्याक्क लाइनमा बस्ने र पालो कुर्ने । काम गर्नेहरुले पनि कसैलाई भेदभाव नगरी समानताका आधारमा सेवा उपलब्ध गराउने चलन छ । नाताबाद र कृपाबाद यहाँ चल्दै चल्दैन । सबै बरावर भन्ने यहाँको मुख्य सिद्धान्त देखिन्छ । चन्द्रे र दले कुक किचनमा व्यस्त छन् भने साहु वेटर गर्दछन हलमा । चन्द्रेले करी बनाउँछ भने दलेले तन्दुर सम्हाल्छ । उनीहरुलाई त्यो प्रचण्ड गर्मीमा पनि भ्याइनभ्याइछ, रस्साकस्सी छ ।

यस्तो पनि नान हुन्छ ? साहुले त्यही नानले कुकलाई हिर्काए तर दले तर्कियो र बच्यो । उनी रीसको झोंकमा आफै तन्दुरमा गएर नान हाने । तन्दुरको विटले हात पोलेछ क्यार, साहुले पोलेको ठाउँमा चाटे । एक छिन पछि पहिला फ्याँकेको नान भन्दा पनि नराम्रो नान तन्दुरबाट निकाले अनि पाहुनालाई लगेर दिए । पहिलाको नानको विटमा थोरै काँचो जस्तो देखिन्थ्यो तर साहुले बनाएको नानको टुप्पो डढेको बाङगो र पछिल्लो भाग काँचै थियो ।कुक अमिलो हुँदै देब्रेहातले पसिना पुछ्यो र तन्दुरी सेटगर्नमै व्यस्त रह्यो । उस्ले कतिबेला ग्यासको राँको मिलाउँछ त कतिवेला नूनपानीको घोल बनाएर तन्दुरमा पोछा लगाउँछ । ’मैले के गर्ने माटाको तन्दुरभए जानेको थिएँ’- यस्तो सिमेन्टको तन्दुर उसमाथि लन्चमा ५०-६० जना एकैसाथ छिर्छन । दुई राउण्ड नान हान्यो कि तन्दुर सेलाउँछ काम गर्न छाड्छ । दलबहादुरलाई सबैले दले-दले भन्छन दले एक्लै फुसफुसायो । ५०–६० जना एकैपटक छिरेभने कसैले चिजनान खान्छन, चिजनान बाक्लो हुन्छ २–३ वटा चिजनान हान्ने हो भने तन्दुर सेलाउन थाल्छ । पचास साठीवटा नान हान्दा ग्याँसको तन्दुर मिलाउन नसकेर दले हैरान हुन्छ ।त्यसैमा चिसो सिखकबाव, तन्दुरी चिकन, टिक्का पोल्नुपर्ने पाहुनाहरूको अडर अनुसारको सेट मिलाउनु पर्ने? भर्खर नेपालबाट आएको दलेलाई पर्नु पीर परेको छैन । कतिवेला साहुसँग रिस उठ्छ त कतिवेला तन्दुर देखेर फन्का छुट्छ उसलाई । मैले त्यो डिग्री सजिलै कटा’को हुँ तर नान हान्न निकै गाह्रो भो दाई-करी सेफलाई हेरेर दलेले मुख खोल्छ । त्यो पढाई हो, यो ट्रराई हो नि भाइ त्यसै कहाँ मिल्छलाख ? चन्द्रे खिसिक्क सेता दाँत देखाएर हाँस्यो । मलाई खुशी लाग्छ भाइ तिमीसँग कामगर्न पाउँदा किन भने तिमी डिग्री होल्डर पर्यैा म भने कोदालो र डाडुपन्यु होल्डर हुँ । मैले खेतबारीको कामदेखि करीनान सबै गर्छु तिमीलाई भने तन्दुरी समाल्न पनि हम्मेहम्मे परिरहेको छ -चन्द्रेले कुरा सक्यो ।दलेले जवाफ फर्कायो म बाटो बिराएको कुक हुँ दाई । मैले यो कामको लागि भनेर पढेको हैन जीवनभरी यही काम गरेको भए म पनि कम हुने थिईन तिमी भन्दा भो । काम नलाग्ने के भढिस् त फेरि ? -चन्द्रेले झट्का हान्यो । भो दाई यी पढाईका कुरा नगरौं काम धेरै छ नानको पिठो सकियो पिठो मुछ्नु छ । लस्सी पनि सकियो-दुई गिलास जति मात्रै होला । सलाद छैन, ड्रेसिङ छैन खाँटीकुरा भन्नु पर्दा मलाई बोल्ने फुर्सद पनि छैन सक्छौ भने हेल्प गर दाई साहु कस्ता छन थाहै छ तिमीलाई । दलेले २५ केजीको मैदाको बोरा बोकेर ल्यायो, अण्डा, दुध, पानी, नून, चिनी र वेकिङ पाउडरको घोल बनाएर मुछ्न शुरुगर्यो । मेरो पनि मटन, चिकन, किमा, ग्रेभी के के छ छैन हेरेको छैन भाइ । ल म ड्रेसिङ बनाईदिन्छु चन्द्रेले दलेमाथि दयाको भाव देखायो । कालो भादगाउँले टोपी, सेतो सट र कालो पाईट लगाएको दले, एप्रोन बाँधेर ठूलो हण्डीमा पिठो मुछ्दैछ ।

टोकियोका रेष्टुरेन्ट, साँगुरा किचन तपतपी पसिना पिठोमै चुहाउँछ दलेले, पसिना पुछोस पनि कसरी दुवैहात पिठोमा रोमलिएको अवस्था छ पसिना नचुहाइ सुखै छैन पिठोमा । खै कति दिन बाँचिन्छ र दाई यही गतिले जापानमा -दलेले नैरास्यताको भाव पोख्यो चन्द्रेसामु । सानो मन बनाउन हुन्न दले आँटा र पिठोसँग लड्नु नै हाम्रो कर्म हो । हरेस नखा पछि-पछि सजिलो हुन्छ । काम सधैं यही हो साहुले मान्छे राख्दैनन् ज्यानले हरेष खाइसक्यो दाई मेरो त । साहु अर्डर आउन नपाउँदै ’ओखावारी नान’ भन्दै आउँछन नराम्रा गाली गर्छन् । तन्दुरीको चाल त्यस्तो छ । कसरी हुन्छ र दाई ?- दलेले झन विह्वल हुदै भन्यो । हेर भाई कहाँ सुख होला भन्दै म ३–३ ठाउँमा काम छाडेर हिंडें । आखिरमा जहाँ गएपनि आफ्नो कर्म गर्ने हो झन यहाँ भन्दा पनि दुख पाईन्छ अनेत्र, काम छोड्ने कुरा नगर खुत्रुखुत्र दुईभाईले यही २–४ साल गरेर घर फर्कैालानी चन्द्रेले आशाका फुल रोप्यो । किचनको एक्जीष्टफ्यान चलायो अलि शितल आनन्दको महसुस भयो । साहुले मार्लान नि दाई फ्यान चलाउदा दले डरायो । तेरो त्यो हाल देखेर चलाको हुँ भाइ पीर नगर चन्द्रेले ढाडस दियो । दलेले पिठो मुछ्यो र ढाकेर राख्यो । दाई साहु कता गए दलेले चन्द्रेलाइ सोध्यो । तेरा साहु त निस्किए नि विचरा कहाँ ह्याकुऐनको तरकारी र जुस पाइएला भनेर चहार्दै होलान् । कन्जुस साहु न स्टाफलाई राम्रो खाना दिन्छन न कष्टम्वरलाई आफुमात्र मोटाउँदैछन यस्तो तालले यो रेष्टुरेन्ट कतिदिन चल्ला र ? हामीलाई मारीमारी ठूलो घर बनाउने दाउमा छन केटा तेरा साहु चन्द्रेले कटाक्ष हान्यो । कुरा गरी साध्य छैन दाई हाम्रा साहुका, पछि कुरा गरौंला भ्याट्ट आएर सुन्लान सचेत हुनुपर्छ । मेरो त गर्नुपर्ने धेरै छ दले गुनगुनाउदै सलाद काट्न लाग्यो । ल हेर्नुस दाई यो डाम्म्रीएको गाजर र भित्रभित्रै कुहेको लेटस, पहेंलै भैसकेको बन्दाको कस्तो सलाद बनाउने हो मैले ? फ्याकौं भने साहुले जागीरै खाईदेलान भन्ने पीर नफ्याकौं भने मनै मान्दैन । चन्द्रेले बीचमा कुरा टिप्यो त्यति मात्र हो र तैले फ्याकेको साहुले देखे भने नफाल राख त्यही भरे स्टाफको तरकारीमा हाल्न हुन्छ भन्छन चन्द्रेले मुस्काउदै दलेतिर हेर्छ । दले हैरान परेको स्वरमा चन्द्रे तिर प्रश्न गर्छ यो होटललाईन त सारैखराब पो रहेछ है दाई ? हैन, तैंले नेपाली गीत सुनिनस् र भैंसी पालेर भन्ने, दुधमा पानी मिसाएर बेच्ने, बासीभातलाई साजी भनेर खुवाउने पैसा धुत्ने, यही हाम्रो होटलमा हेरन किन टाढा जाने यस्तै हो भाई । मटन, किमा, चिकन पकाएर राखेको एक हप्ता भैसक्यो । मम बनाएर राखेको ६ महिना भैसक्यो के गर्ने मान्छे नआए पनि मेन्युमा भएको बनाएर राख्नुपर्छ तत्काल बनाउन सकिदैन चन्द्रेले जे हो त्यही वास्तवीकता खोल्यो । हो दाई दलेले सही थाप्यो । दले कोमल मन भएको व्यक्ति छ । समाज, व्यक्ति र व्यवहारलाई बुझेको छ आवश्यक कुरा बोल्छ, अनावश्यक कुरा बोल्दैन ।

आज दलेले चन्द्रेसामु व्यवहारिक कुरा खोल्छ । जापान आउँदा लागेको १५ लाखको सामव्याज ऋणले बस्न खान छैन दाई के गर्ने होला ? साहुले तलव नदिएको २ महिना भैसक्यो साथमा दैनिक खर्च गर्ने थोरै पैसा पनि छैन । कसरी हो चल्ने ? नानी बाबुसँग बोल्न मन थियो पैसा छैन । बुढीले कसरी चलाउदै होलिन घरव्यवहार ? संझेर ल्याउँदा रातमा निद लाग्दैन । मरी मरी काम गरिन्छ, समयमा तलव पाईदैन, नत राम्रो खाना, नत राम्रो बोली व्यवहार, असिना र पसिना दिनरातको कडा काम । दले पीर नगर चन्द्रेले सम्झाउन थाल्छ जापानलाई बुझ । यो देशको समय र स्थिरतालाई कावुमा पारेर नेपालीले नेपालीलाई नै ठग्ने धन्दानै चलेको छ याहाँ, धनदौलतका मामलामा पूँजीपतिहरुको बीचमा बेमेल छ । आफन्तहरुको बीचमा पनि बोलचाल छैन, रिसारिस छ । कुनै दिन निश्चितरुपमा धैर्यताको बाँध फुट्ने छ र श्रमजीवी कुक मजदूरहरुको दिन खुल्नेछ । तर हामी एक हुनुको विकल्प छैन । संगठन विनाको सपना कल्पना गर्न पनि सकिन्न । हाम्रो एकताले सवै कसिंगर बगाएर लैजाने छ र मजदूरहरुको सुखका दिन फिर्नेछन । हाम्रो सपना पुरा हुनेछ । हुन त हो दाई तर कहिले आउला हाम्रो दिन ? चिन्ता किन गर्छस भाइ ? यहाँ पनि विभिन्न समाज, सघं संगठन बन्दैछन, एकताका अवाज बुलन्द गर्दैछन, अहिलेत जापान नेपाली एकता समाज खुलेको छ रे, त्यसले नै सबै कुकका समस्यालाई जापान सरकार समक्ष राख्ने र यहाँका सामन्ति फटाहाहरुको घाँटीमा नाम्लो लगाउने हो रे भाइ बरु हामी त्यो एकता समजमा सामेल हुनुपर्छ र आफ्ना पीरमर्का पोख्नुपर्छ । चन्द्रेले रातो मुख बनाएर बोल्यो । दलेले अझैपनि नैरास्यताका साथ बोल्छ हुन त हो दाई तर कसरी, न हप्तामा छुट्टी छ न काम गर्ने समयको हदवन्दी छ १२–१४ घण्टा काम गर्नु पर्छ । यो जोत्दा जोत्दै हलाक भएको गोरुको जस्तो जीवनले के गर्न सक्छ र? पहिला हाम्रो मुक्तिको कुरा गरौं, कमसेकम हप्तामा एक छुट्टी, राम्रो खाना, बस्न, तालिम यी यावत कुराहरुको कुरा गरौं दाई । हो त्यसैका लागि पहिला हामी एकजुट हुनुपर्छ विना एकजुट हामी केही गर्न सक्दैनौ । एकता नै बलहो भन्ने कुरा नभुलेर हामी अगाडि बढेको खण्डमा एकदिन सफल हुनेछौं र सामन्तवाद माथि मज्दुरहरुको विजय हुनेछ भाइ । अस्तु…***

तपाईको प्रतिक्रिया