मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

काठमाडौं – राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ । राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

विभागमा आज आयोजित कार्यक्रममा ‘आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो निकाय विभाग बन्नु गौरवको विषय भएको बताउनुभयो । परराष्ट्रमन्त्री महराले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिनुभयो ।

“विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्त रुप दिन सूचना प्रविधिको प्रचुर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ”, परिवर्तनशील समयअनुरुप विज्ञान र प्रविधिको क्षेत्रमा आएका नवीन विकासलाई आत्मसात् गर्दै काम गर्नुपर्ने अहिलेको खाँचो औँल्याउँदै उहाँले भन्नुभयो । कर्मचारीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न मन्त्रालयले अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

परराष्ट्र सचिव शंकरदास वैरागीले पारदर्शिता, व्यावसायिकता र प्रभावकारिता वृद्धिको परिणामस्वरुप विभागले उक्त प्रमाणपत्र पाएको बताउँदै त्यसबाट अन्य सरकारी नियकालाई पनि प्रेरणा मिलेको विचार व्यक्त गर्नुभयो । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्नु नेपालका निम्ति प्रतिष्ठाको विषय भएको बताउँदै त्यसलाई कायम राख्न विभागलाई अनुरोध गर्नुभयो ।

विभागका महानिर्देशक रामकाजी खड्काले सेवा प्रवाहमा विभाग दत्तचित्त भएर लागेको भन्दै अझ स्तरीय एवं गुणस्तरयुक्त सेवा जनतालाई उपलब्ध गराउन आफू नेतृत्वको कार्यालय दृढ रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया