शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – कर्मचारी समायोजन गर्न थालेपछि नुवाकोटका स्थानीय तहमा रहेका कर्मचारीले राजीनामा दिन थालेका छन् । जिल्ला प्रशासन कार्यालयले गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

स्थानीय तहमा कर्मचारी समायोजन गरेको भन्दै आधा दर्जन कर्मचारीले राजीनामा दिइसकेका छन् । कर्मचारीलाई राजीनामा नदिन आग्रह गर्दा पनि अस्विकार गरेको पशुसेवा कार्यालय प्रमुख खगेन्द्रराज भट्टले बताउनुभयो । कर्मचारीलाई स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या आएको उहाँले उल्लेख गर्नुभयो ।

जिल्लाका २ नगर १० गाउँपालिकाका लागि ८० भन्दा बढी कर्मचारी खटाइसकिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले कतिपय स्थानीय तहमा कर्मचारी जान नमान्ने कारण समस्या आएको बताउनुभयो । सदरमुकाममा रहेका कार्यालयमा लामो समय देखि कार्यरत कर्मचारीलाई गाउँपालिकाको कार्य क्षेत्र तोकिएपछि जान नमानेको उहाँले जनाउनुभयो ।

पूर्वाधार नभएको, काम गर्ने क्षेत्रमा आवास सुविधाको अभाव, जननिर्वाचित प्रतिनिधिहरु व्यवहारिक नभएको भन्दै खटिएका कर्मचारीले सम्बन्धित कार्यालय प्रमुख सामु राजीनामा दिएका हुन् । कर्मचारी खटाइए पनि कतिपय गाउँपालिकाका कार्यालयमा उनीहरु हाजिर समेत भएका छैनन् ।

तपाईको प्रतिक्रिया