शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – गएसाता मेरो टाउको साह्रै दुख्यो । दिनभरको उखरमाउलो गर्मी, दुई घन्टा ट्राफिक जाम त्यसमाथि एक थोपा पानी पनि नहुँदा त्यस दिनका सबै योजना गोलमाल भए । त्यस दिन म पनि टाउको दुखाइ वा माइग्रेनको सिकार भएका ५० लाख अस्ट्रेलियालीमध्ये एक थिएँ ।

तर त्यस दिनको मेरो टाउको दुखाइ भने ‘तनाव’का कारण थियो, जुन सबैभन्दा सामान्य प्रकारको टाउको दुखाइ मानिन्छ । माइग्रेनलाई सामान्य मानिँदैन तर औसतमा बर्सेनि ८ जनामध्ये एक जनाले माइग्रेन अनुभव गर्छन् ।

टाउको दुखाइ कुनै ठूलो रोग होइन, सामान्य मानिन्छ । तर, यही सामान्य मानिने टाउको दुखाइले हामीलाई निकै कष्ट दिन्छ । अनुसन्धानबाट थाहा पाइएका केही सामान्य उपाय अपनाए हामी टाउको दुखाइको सिकार हुनबाट जोगिन सक्छौँ ।

१. पानीः महिनामा दुई पल्ट कडा वा पाँच पल्ट सामान्य टाउको दुख्ने मानिस सहभागी गराएर एउटा अनुसन्धान गरियो । सहभागीहरूलाई पर्याप्त निदाउन र तनाव व्यवस्थापन गर्न पनि सिकाइयो । दुई समूहमध्ये एउटा समूहलाई अनुसन्धान अवधिभर उनीहरूले नियमित पिउनेभन्दा दैनिक डेढ लिटर बढी पानी पिउन भनियो । तीन महिनामा बढी पानी पिउने समूहका सहभागीको माइग्रेनमा उल्लेख्य सुधार भएको पाइयो । समूहका ४७ प्रतिशतले टाउको दुखाइ निकै कम भएको अनुभव सुनाए ।

जबकि बढी पानी नपिउने समूहका सहभागीमध्ये २५ प्रतिशतले मात्र टाउको दुखाइमा सुधार भएको बताए । टाउको दुखाइको अवधि र ‘फ्रिक्वेन्सी’मा भने फरक परेन । तर, अलिकति बढी पानी खाँदैमा केही बिगार पनि हुँदैन, त्यसैले केही दिन प्रयोगकै रुपमा १–२ लिटर पानी बढी खाएर हेर्नुस् । पानीको बोतल जहाँ जाँदा पनि सधैं बोक्नुहोस् र खाली हुनासाथ नबिर्सी भरिरहनुहोस्, ताकि बढी पानी खानुपर्छ भनेर बोतलले नै तपाईंलाई सम्झना दिलाइरहोस् ।

२. क्याफिनः क्याफिनले दुखाइ कम गर्न सक्छ । ‘सिस्टमेटिक रिभ्यु द्याट इन्क्लुडेड फाइभ हेडेक स्टडिज’ अन्तर्गत एक हजार पाँच सय तीन जना सहभागीमा गरिएको परीक्षणमा क्याफिनले दुखाइ कम गर्ने देखाएको थियो । सहभागीमध्ये सबै माइग्रेन वा तनावका कारण टाउको दुख्ने थिए । कफी खाँदा क्याफिनको मात्रा सय मिलिग्राम वा बढी भएपछि र पेनकिलर (इबुप्रोफिन वा प्यारासिटामोल) सेवन गर्दा ३३ प्रतिशतलाई आराम भएको थियो भने पेनकिलर मात्र सेवन गर्ने समूहका २५ प्रतिशतलाई आराम भएको थियो ।

दैनिक चार सय मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्ने ५० हजार जनाभन्दा बढी नर्बेजियालीमा टाउको दुखाइ र क्याफिनको सम्बन्धबीच एउटा अनुसन्धान गरिएको थियो । सहभागीमध्ये सबैभन्दा बढी क्याफिन (दैनिक ५४० मिलिग्राम) सेवन गर्नेहरूलाई माइग्रेन लगायत टाउको दुखाइको सम्भावना १० प्रतिशत बढी पाइयो । तर जब टाउको दुखाइको दोहोरिने प्रवृत्तिको अध्ययन गरियो, थोरै मात्रामा क्याफिन (दैनिक २४० मिलिग्राम) सेवन गर्नेको तुलनामा बढी मात्रामा क्याफिन सेवन गर्नेलाई ‘नन–माइग्रेन’ टाउको दुखाइ महिनामा ७ पल्टभन्दा कम मात्र हुने गरेको पाइयो । यसमा क्याफिनको बढी मात्राले टाउको दुखाइ घटाउने तथ्य पाइयो ।

अनुसन्धानकर्ताले सबैभन्दा थोरै क्याफिन (दैनिक १२५ मिलिग्राम) सेवन गर्नेहरूलाई भने महिनामा १४ पल्टभन्दा बढी टाउको दुख्न सक्ने तथ्य पत्ता लगाए । ती सहभागीहरू बढी संवेदनशील र क्याफिनप्रति उदासिन भएका कारण यस्तो हुन सक्ने अनुसन्धानकर्ताले बताए । निदाएका बेला टाउको दुख्ने रोगलाई हिप्निक हेडेक भनिन्छ । आक्कलझुक्कल कसैकसैलाई मात्र हुने हिप्निक हेडेकमा १५ मिनेटदेखि ३ घन्टासम्म टाउको दुख्न सक्छ र यो खासगरी बुढापाकालाई हुन्छ । हिप्निक हेडेकको उपचार कडा कफी खुवाएर गरिन्छ ।

३. उपवासः केही व्यक्तिमा उपवासपछि पनि टाउको दुख्ने गर्छ । खासगरी बेलुकी ६ बजेदेखि अर्को दिन बिहान १० बजेसम्म भोकै बस्दा यसरी टाउको दुख्ने गर्छ । डेनमार्कमा गरिएको एउटा अनुसन्धानले २५ जनामध्ये एक जनालाई यस्तो उपवासका कारण टाउको दुख्ने गरेको पत्ता लगाएको थियो । दुखाइमा केही नखाई खाली पेटमा गर्नुपर्ने रगत वा अन्य परीक्षण तथा उपवासबाट शारीरिक वजन घटाउँदा वा अत्यन्त न्यून ऊर्जायुक्त भोजन (लो एनर्जी डाइटिङ) गर्दा टाउको दुख्न सक्छ ।

यस्तो टाउको दुखाइमा पनि कफी सेवनबाट सुधार हुन सक्छ । रगतलगायत परीक्षणमा भोको पेट बस्नुको साटो कस्ता तरल पदार्थ खान हुन्छ (जस्तै चिया, कफी, पानी आदि) जानकारी लिने । अर्को एउटा ‘थर्टिफोर पिपल विद न्यु–अनसेट माइग्रेन’ अध्ययनमा राति केही खाएर सुत्नेहरूलाई नखाइ सुत्नेको तुलनामा टाउको दुख्ने सम्भावना ४० प्रतिशत थोरै पाइएको थियो । अध्ययनमा एक महिनासम्म सबै सहभागीको तथ्यांक राखेर विश्लेषण गरियो । यस्तो टाउको दुखाइबाट जोगिन राति भोकै नसुत्नु बेस हुन्छ।

४. मध्यपानः अल्कोहल (मध्यपान) का कारण हुने ‘ह्याङओभर’को पहिलो लक्षण नै टाउको दुख्नु हो । तर, एक पेगदेखि कतिसम्म अल्कोहल पिए ह्याङओभर हुन्छ भन्ने व्यक्तिअनुसार फरक पर्छ । अल्कोहल पिएपछि फुट्नेगरी टाउको दुख्नु, छिटोछिटो पिसाब लाग्नु र वान्ता गर्नुले ‘डिहाइड्रेसन’को जोखिम बढाउँछ । यसले रगतमा समेत परिवर्तन गर्छ र मस्तिष्कमा अक्सिजनको प्रवाह कम हुन्छ ।

कलेजोले रगत–मस्तिष्कको क्षमताले धान्नेभन्दा धेरै भएर अल्कोहल पचाउनु (मेटाबोलिज्म) परेपछि ह्याङओभर हुनेगर्छ । अल्कोहलले तनावका कारण हुने टाउको दुखाइ, अधाहा (आधा टाउको दुख्ने) र माइग्रेन समेत निम्त्याउन सक्छ। अल्कोहलका मामिलामा बुद्धिमत्तापूर्ण सुझाव भनेकै, आफूले पचाउन सक्नेगरी पिउने, खाली पेटमा अल्कोहल सेवन नगर्ने र पानीको मात्रा बढाउने नै हुन् । र, तपाईं अल्कोहलप्रति धेरै संवदेनशील हुनुहुन्छ भने सेवन नगर्नु नै उत्तम विकल्प हो ।

५. फोलेटयुक्त भोजनको मात्राः हालै गरिएको एउटा अध्ययनले फोलेटयुक्त भोजनको कमीका कारण बारम्बार माइग्रेन दुख्ने गरेको तथ्य पत्ता लगाएको थियो । त्यसैले हरिया सागपात, गेडागुडी, बिउ, कुखुराको मासु, अन्डा, सुन्तला, कागती, अंगुर, भोगटेजस्ता फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ । -एजेन्सी

तपाईको प्रतिक्रिया