बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौँ – “कलेजोमा समस्या भएर बाँच्ने आशा मरिसकेको थियो, आयुर्वेदिक औषधि पाएर अहिले ठीक भएको छ”, ७७ वर्षीया कपित्रामाया लिम्बूले सुनाउनुभयो ।

तेह्रथुम पौठा–१ स्थायी घर भई हाल कोटेश्वर बस्ने लिम्बूले कलेजोमा समस्या भएर मेडिकेयर अस्पतालमा उपचार गराउनुभयो तर ठीक भएन ।

लिम्बूले जोड्नुभयो, “रु छ÷सात लाख पनि सकियो अस्पतालमा, ठीक पनि भएन, आयुर्वेदिक औषधि पाएपछि अहिले ठीक छ ।”

लिम्बूको शरीरमा रातो रक्तकोष कम हुँदै गएको थियो । ललितपुरस्थित कुपण्डोल गुरुद्वारा नजिकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी उहाँले तीन महिना आयुर्वेदिक औषधि खानुभएको थियो ।

लिम्बू मात्र हैन, उहाँजस्ता धेरैले आयुर्वेदिक औषधिबाट कलेजो समस्याबाट पुनर्जीवन पाएका छन् । बालुवाटार निवासी ८० वर्षीया मीठुदेवी उपाध्यायको पनि आयुर्वेदिक औषधि खाएर स्वास्थ्यमा सुधार आएको छ ।

मीठुदेवीका छोरा डा राजन शर्माले भन्नुभयो, “कलेजोको समस्याको मेडिकल औषधि छैन, आयुर्वेदिक औषधि खाँदा सुधार आएको छ, खानामा रुचि पनि बढाएको छ ।”

तनहुँ शुक्लागण्डकी नगरपालिका–११ का ४४ वर्षीय राजु भट्टराईले पनि आयुर्वेदिक औषधिको सेवन गरिरहनुभएको छ । “आयुर्वेदिक औषधि खाइरहेको छु, अनुहारमा पनि चमक आएको छ, कालो पनि हटेको छ”, उहाँले भन्नुभयो । भट्टराई कलेजोको उपचार गर्न भनेर काममा छुटी लिएर बस्नुभएको थियो । अहिले औषधिको प्रयोगपछि काममा जान सक्ने हुनुभएको छ ।

नवलपरासी कावासोती–२ की ३७ वर्षीया विमला कँडेलले पनि कलेजोमा समस्या देखिएपछि आयुर्वेदिक औषधि खान शुरु गर्नुभएको छ । “कलेजो समस्या भएर औषधि खान शुरु गरेको पाँच÷छ महिना भयो, केही सुधार भएको लाग्छ तर परीक्षण गर्न बाँकी छ”, उहाँले सुनाउनुभयो ।

वैद्य राउतले आयुर्वेदको खोज अनुसन्धान गर्ने क्रममा विसं २०४६÷०४७ तिर विश्व स्वास्थ्य संगठनका सहयोगमा १५ महिने तालिम प्राप्त गरेपछि कलेजो उपचार गर्न शुरु गर्नुभएको हो । उहाँले २५ वर्षदेखि कलेजोको उपचार गर्दै आउनुभएको छ । तीन सयभन्दा बढी व्यक्तिले उहाँको उपचारबाट स्वास्थ्य लाभ लिएका छन् ।

बाह्रबिसे नगरपालिका–२ मा ५८ वर्षअघि जन्मनुभएका वैद्य राउतका अनुसार कलेजो खराबीमा मद्यपानलाई दोष दिइन्छ तर मद्यपान नगर्ने व्यक्तिको पनि कलेजो बिग्रिएको पाइएको छ । “कलेजो प्रत्यारोपण नेपालीको हैसियत र पहँुच बाहिरको कुरा हो, प्रत्यारोपणपछि पनि घरमै उपयुक्त वातावरणमा बस्नुपर्ने हुन्छ, सामान्य वातावरणमा बाँच्न सकिँदैन ।”

कलेजो समस्याका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । नेपाल संसारमा नपाइने जडीबुटी पाइने भए पनि त्यसको भरपुर प्रयोग गरी जनधनको सुरक्षित गर्न सकिएको छैन । कलेजोको समस्या भएमा यसका लक्षण अल्छी लाग्ने, खाना रुचि नहुने र शरीर शिथिल हुँदै गएर छिट्टै मृत्यु हुन्छ । लक्षण थाहा पाउनेबित्तिकै स्वास्थ्य परीक्षण गरेर आयुर्वेदिक औषधि खानुपर्छ ।

कलेजो प्रत्यारोपण गर्नुपरेमा रु ५० लाखभन्दा बढी लाग्छ तर आयुर्वेदीय उपचार अत्यन्तै कम खर्चमा गर्न सकिन्छ । कलेजो किमो दिएकाहरुलाई भने आयुर्वेदीय उपचार गर्न मुश्किल हुन्छ ।

कलेजो मानव शरीरको सबैभन्दा ठूलो अंग हो । कलेजो, फियो, आन्द्रा र मिर्गौलाले पाचन प्रक्रियामा अन्त्यतै महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । कलेजोले विषादीलाई मलमूत्रबाट फ्याँक्ने काम गर्छ ।

कलेजोसम्बन्धी समस्यालाई संस्कृतमा ‘कामला’, नेपालीमा ‘कमलपित्त’, अंग्रेजीमा ‘जन्डिस’ भनेर बुझिन्छ । विभिन्न कारणले कमलपित्त हुन सक्छ । कमलपित्त भएपछि रातो रक्तकोष निर्माणमा कमी हुन्छ । आयुर्वेदीय औषधि र सचेतना (आहारविहार) बाट उपचार गर्न सकिने राउत बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया