शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाउनुभएको छ।

पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक-पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गर्नुभएको छ।

माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्‍यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता-कार्यकर्ताको व्यवहार देखाउन नहुने बताउनुभयो।

शान्तिप्रक्रियामा आएपछि एकताका नाममा बन्दुक नबोक्नेलाई पार्टीमा सहभागी गराउँदा लथालिंग हुन पुगेको टिप्पणी केही नेताले गरेपछि श्रेष्ठको आक्रोश सार्वजनिक भएको हो।

‘पार्टीभित्र दुईथरी नेता-कार्यकर्ता छौं, एउटा ‘जनयुद्ध’ थरी, अर्का जनआन्दोलन थरी। म दोस्रो थरी परें’, श्रेष्ठको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले अन्नपूर्णलाई जानकारी दिए, ‘जनयुद्ध लडेर आउनेलाई सम्मान छ तर म अर्का थरीले कहिलेसम्म आफू नथरी भएको भनी प्रस्टीकरण दिइरहनुपर्ने हो ?’

बदलिएको राजनीतिक परिवेशअनुसार पार्टी निर्माणका लागि व्यापक मात्रामा नयाँ पुस्तालाई पार्टीमा भित्र्याउनुपर्ने र परिचालन गर्नुपर्नेमा श्रेष्ठको जोड थियो।

‘हाम्रो पार्टीमा सधैं ‘जनयुद्ध’मा सहभागी भएको भनेर थर्काउने गरिन्छ। माक्र्स, एंगेल्सले बन्दुक बोकेका थिए ? उनीहरू क्रान्तिकारी होइनन् ? बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ? ’ श्रेष्ठको प्रश्न थियो। उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालको अन्धप्रशंसा गर्ने प्रवृत्ति रहेको भन्दै नेतृत्वको अचाक्ली प्रशंसासँग आफू असहमत रहेको पनि बताउनुभयो।

‘अहिले अध्यक्षको प्रशंसा अचाक्ली छ। नेतृत्वलाई नै लाज लाग्ने तहको प्रशंसा ठीक होइन’, श्रेष्ठले भन्नुभयो, ‘अध्यक्ष सही, अरू बेठीक भन्ने तहमा बहस हुन्छ, यो ठीक होइन, कमजोरी अध्यक्षकै तहबाट भएको छ। नत्र त्यत्रो पार्टी अहिले किन यत्रो हुन आइपुग्यो ?’

उहाँले अध्यक्ष दाहालको आफूले अहिल्यै विकल्प खोज्नुपर्ने, आजै पद छाड्नुपर्ने आफ्नो भनाइ नभएको भन्दै दाहालकै नेतृत्वमा पार्टी पुनर्गठनको प्रक्रिया सुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। ‘नेपाली क्रान्तिलाई, परिवर्तनलाई यहाँसम्म ल्याउने मुख्य नेता अध्यक्ष नै हुनुहुन्छ। उहाँको विश्वमै ख्याति छ।

हामीमा एकता पनि असाधारण खालकै छ’, श्रेष्ठले लिडरसिपको विषयमा चर्चा गर्दै भन्नुभयो, ‘अध्यक्षको पनि रूपान्तरणको आवश्यकता छ, पार्टी पुनर्गठनको आवश्यकता छ, त्यो अभियानको नेतृत्व अध्यक्षले नै गर्नुपर्छ।’

श्रेष्ठले पार्टी निर्वाचनमा पराजित हुनुमा संगठनमा मौलाउँदो बुर्जुवाकरण मुख्य समस्या भएको पनि बताउनुभयो। ‘पार्टी क्रान्तिकारी भइरहने तर संगठन बुर्जुवाकरण भएर जाँदा निर्वाचनमा पराजित हुनुपरेको छ’, श्रेष्ठले भन्नुभयो, ‘अब पार्टीलाई रूपान्तरण र शुद्धीकरण गरेर जानुको विकल्प छैन।’

 

तपाईको प्रतिक्रिया