शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – आज सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टिका उम्मेदवार रामनाथ कोविंद भारतका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविंदले विपक्षी कंग्रेस र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएको बीबीसीले उल्लेख गरेको छ ।

कोविंद र कुमार दुवै दलित समुदायका हुन् । कोविंद दलित समुदायबाट भारतको राष्ट्रपति पदमा निर्वाचित हुने दोस्रा व्यक्ति हुन् । के आर नारायणन दलित समुदायबाट भारतका पहिलो राष्ट्रपति चुनिएका थिए । उनी आफ्नो कार्यकालमा प्रभावशाली मानिएका थिए ।

कोविंदलाई भाजपाले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्नुअघि उनका बारेमा धेरैले सुनेका थिएनन् । उम्मेदवारको रुपमा मनोनित हुँदा उनी बिहार राज्यको राज्यपालको पदमा थिए । भारतको संविधान अनुसार राष्ट्रपतिको पद आलंकारिक मात्र हो ।

राष्ट्रपतिले सरकारलाई सरसल्लाह दिन वा बढीमा कुनै निर्णय पुनर्विचार गर भन्न सम्म सक्छन् । तर यदी सरकारले उनको सल्लाह मानेन भने पनि त्यसमा उनले हस्ताक्षर गर्नै पर्छ । -एजेन्सी 

तपाईको प्रतिक्रिया