शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024


टोकियो – लामो समयदेखि जापानमा बस्दै आएनुभएका गुल्मी रुपाकोटका भीमलाल खरेलको रहष्यमय निधन भएको छ ।

स्थापित ब्यवसायीकारुपमा जापानमा परिचित खरेललाई सोमबार बिहान प्रहरीले आराकावा नदिको किनारमा मृत अवस्थामा फेला पारेको थियो । उहाँको साथमा रहेको परिचयपत्रको आधारमा प्रहरीले परिवारलाई जानकारी गराएको थियो । साथमा रहेको मोबाइल पनि पानीमा डुबेको अवस्थामा भेटिएको बताईएको छ ।

सँधैझै आइतवार साँझ पनि नियमित ब्यवसायिक कार्यसम्पादन सकेर घर फर्कनेक्रममा नजिकैको पार्कमा स्वच्छ हावामा टहलिनका लागि उहाँ अलमल गर्नुभएको बुझिएको छ । त्यसपछि सम्पर्कविच्छेद भई घरमा पनि नफर्किनुभएका खरेल बिहान मृत अवस्थामा भेटिनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

५५ वर्षिय खरेल सिंगो नेपाली समुदायका एक भरोसायोग्य अभिभावक हुनुहुन्थ्यो । मिलनसार, सहयोगी र रमाइलो स्वभावका खरेल धर्मकर्ममा पनि उत्तिकै आस्थावान हुनुहुन्थ्यो ।

समाजसेवमा पनि उत्तिकै सक्रिय खरेलको अप्रत्याशित निधनले यतिबेला जापानको नेपाली समुदाय शोकमा डुबेको छ । जापानमा नेपाली समुदायको सामुहिक पहलमा खुलेको एभरेष्ट इन्टर्नेशनल स्कुलको स्थापनामा समेत उहाँको महत्वपूर्ण योगदान रहेको थियो । उहाँ आध्यात्मिक सेवा केन्द्र जापानको पनि उपाध्यक्ष हुनुहुन्थ्यो । सोही केन्द्र मार्फत उहाँ जापानमा धार्मिक आस्था बिसाउने मन्दिर निर्माण गर्ने अभियानमा हुनुहुन्थ्यो, तर उहाँको सपना अधुरै रह्यो ।

पोष्टमार्टमको रिपोर्टअनुसार खरेलको मृत्युको कारण हृदयघात भएको प्रहरीले जानकारी गराएको छ । स्वर्गीय खरेलको अन्त्येष्टि यही शनिवार बिहान ९ बजे गरिने भएको छ ।

उहाँका श्रीमती, १ छोरा र ४ छोरीहरु जापानमै हुनुहुन्छ । आराकावा-कु मा पर्ने मिनामी-सेन्जुमा खरेल परिवार लगायत नेपालीहरुको बाक्लो बस्ती छ ।

‘हामीलाई त अझै पत्यार लागिरहेको छैन, हाम्रो भीमदाइ कतिबेला जुंगा मुसार्दै टुप्लुक्क घर आईपुग्नुहुन्छ जस्तो लागिरहेको छ’ – भाइ झविन्द्र खरेलले समुद्रपारिलाई बताउनुभयो । पतिको वियोगमा धर्मपत्नी हरिकला खरेल बेहोस भईरहने समस्याले पटक पटक अस्पताल लैजानुपरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।
सरल र सामान्य स्वभावका तर नजिकबाट चिन्नेहरुका लागि असाधारण ब्यक्तित्व भीमलाल खरेल जस्तो एक होनहार, मिहिनेती र अनुकरणीय कुशल अगुवाको बिदेशी माटोमा अवसान भएको छ । नेपाली समुदायमा उहाँको अभाव सँधै खड्की नै रहने छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली !

अन्त्येष्टि हुने स्थानको जानकारी
MACHIYA SAIZYO
Aragawa Ku, Machiya 1-23-4 Tokyo
Tel :03-3892-0311
Date : 22 July 2017 Saturday
Time : 9:00 AM

तपाईको प्रतिक्रिया