शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

यो हल्लै हल्लाको बजारमा फेरी एउटा अर्को हल्ला सुन्दै छु । यद्यपी, हल्ला नौलो भने होइन । हल्ला उही हल्ला हो सम्मानको, जुन पहिले-पहिले पनि पटक–पटक सुन्दै आएको हो । र, सम्मान गरेको पनि देख्दै आएको हो । यो हल्ला सुनेर मलाई पनि यो देशको दशजना पर्यटन ब्यबसायीहरूलाई एकमुष्ठ सम्मान गर्ने तिब्र अविलाशा जागेर आएको छ ।

सर्व प्रथम त छनौटको कुरो आउँछ, कोकस्लाई सम्मान गर्ने भनेर ।

यसो गर्नु पर्ला !

सम्मान लिन सक्ने अर्थात खरिद गर्न सक्ने ब्यबसायीहरूको एउटा लिष्ट बनाउने । कोहीकोही त सम्मान दोहर्याएर माग्ने पनि हुन्छन् । दोहर्याएर सम्मान माग्नेका लागि एक-दुइवटा कोटा राखेर बाँकी आपूmले चाहेकोजतिलाई सम्पर्क गर्ने र सम्मान गर्न लागेको ब्यहोरा सहर्ष जानकारी गराउने । र, अन्तमा लोकलाई देखाउनका लागिमात्र एक जना लठैत मित्रलाई संयोजक र अन्य पाँचसात जनाको सदस्य राखेर एउटा ज्यूरी बनाई दिने । यसो गरेमा सम्मान गर्ने मान्छे कथंकदाचित विवादित रहेछ भने पनि ज्यूरीलाई दोष लगाएर आफू पन्छन सजिलो हुन्छ ।

जम्मा बजेट कति चाहिएला त ?

दुईसय पर्ने दशवटा दोसल्ला किन्नु पर्ला । दोसल्लाको दुई हजार भयो । फूलको माला अलि महङ्गो पर्ने भएकोले नकिन्ने ! यसको सट्टा दश-पन्ध्र थान खादा किन्ने – खादाको बढीमा पन्ध्र सय ।

सम्मानित हुनेहरूलाई सके ताम्रपत्र नसके पनि एक-एक ओटा कागजमा लेखिएको फ्रेमसमेतको कदर पत्र त दिनै पर्यो ।

त्यसको कति पर्ला ? दश हजार ?

अनि ताली बजाउनका लागि सय जना जतिलाई आमन्त्रित गर्ने । कार्यक्रममा आएर ताली बजाइदिए वापत ति आमन्त्रित मित्रहरूलाई खुवाउन दुई-दुई सयको खानेकुराको पाकेट किन्न तेह« प्रतिसत भ्याटसमेत बाइस हजार छः सय जति पर्ला ।

कार्यक्रम भव्य र सभ्यरूपमा गर्नु पर्ने भएकोले प्रमुख अतिथि लगायत विशेष अतिथि, विशिष्ठ अतिथि गरी पन्ध्र जना आमन्त्रण गर्ने । प्रमुख अतिथिमा सकेसम्म राष्ट्रपति वा उपराष्ट्रपति, नभए प्रधानमन्त्रि डाक्ने । प्रधानमन्त्रि नभए सभामुख । सभामुख पनि नभए विपक्षि दलका नेता ।

ति अतिथिहरूलाई सम्मान गरिने ब्यक्तित्वहरूलाई शुभकामना मन्तब्य दिन लगाउने । शुभकामना मन्तब्य दिँदा उनीहरूको गुणगान गाउन र वास्तविक वजन भन्दा बढी अझ भनौँ उच्च स्तरको उपमा दिन लगाउने । कार्यक्रम तामझामकासाथ गरिने भएकोले नेपालका प्रख्यात नृत्यङ्गनाहरूको टोलीलाई बोलाएर कम्तिमा दुईवटा ‘सम्मान आइटम डान्स’ गर्न लगाउने ।

नृत्य टोलीको लागि खर्च कम्तिमा पनि दशहजार ।

साहित्यिक कार्यक्रमा भए त अतिथिहरूलाई पनि दुईतीन हजारका खाम दिनु पर्ने हुन्थ्यो । तर पर्यटन ब्यबसायीहरूको कार्यक्रमा यो चलन भित्रिसकेको छैन । यो पनि राम्रै कुरो हो ।

अब कुरो रह्यो हल भाडाको । एन्टिबीको हल पाए त पैसा पर्दैन थियो कि ! पाँच तारे होटलमा हो भने त महङ्गै हुन्छ । सकेसम्म त प्रायोजक खोज्ने नै हो । यो सम्बन्धमा एन्टिबीसित पनि आर्थिक सहयोगका लागि अपिल गर्ने । सहयोग गरे गर्छ नगरे आफ्नै पत्रिका छँदैछ । अर्को अङ्कदेखि त्यसको विरूद्घमा लेखेर ख्युल्याइदिने ।

हल भाडा अहिलेलाई पच्चिस हजार राखौँ ।

साहित्यिक कार्यक्रमा त पत्रकारलाईसमेत पाकेट खर्च खाममा राखिने चलन छ के रे ! यसमा चाहिँ त्यो पनि परेन ।

जम्मा बजेट बढीमा रू. एकहत्तर हजार एकसयको ।

अब यो लगानी कसरी उठाउने त ?

आइडिया !
सकेसम्म सम्मानित हुनेहरूसित कम्तिमा पनि पच्चिस हजारका दरले खर्च माग्ने । मागेर सम्मान लिनेले त अवस्य विश्वासघात नगर्ला ! दसजना मध्य चार जनाले मात्र दिए पनि घाटा पर्दैन । अझै अठ्ठा्इस हजार नौसय डक्कै फाइदा ।

यो सम्मानको उपलब्धी के त ?

सम्मान दिने भनुँ या बेच्ने, मेरो सवालमा चाहीँ दसजनालाई सम्मान गरेर इष्ट लगाउन पाइयो । उनीहरू जीवनभर मेरा नजिक हुने भए । तिनले हत्तपत्त मेरा क्रियाकलापका खिलाफमा अमुक भइदिने भए ।

सम्मान भनेको सम्मान नै हो चाहे जो कसैैले जो कोहीलाइ दिएको नै किन नहोस् । सयजनाले बजाएको गड्गडाहट तालीको बिचमा सम्मान ग्रहण गर्नुको मज्जा अर्कै हुन्छ । यो आफैमा जीवनको एउटा गौरवपूर्ण कुरो पनि हो । सम्मान पाउनेहरूको उचाई पनि बढ्नुसम्म बढ्छ । एकातिर उनीहरूको ब्यबसायीक क्यारिअर ‘बिल्डअप’ हुन मद्दत पर्याउँछ । यतिमात्र होइन, राष्ट्रिय मिडियाहरूमा उनीहरूले महत्वपूर्ण स्थान पाउँछ ।

अर्कोतिर नेपालको पर्यटन क्षेत्रमा अत्यन्तै ठूलो योदान पुर्याएको अर्थमा उनीहरूको नाम देश विदेशमै प्रचारप्रसार हुनेछ । ‘वरिष्ठ पर्यटन ब्यवसायी’को उपाधि भिर्न पाउने छन् । विभिन्न संघसंस्थामा उनीहरूलाई सल्लाहकारको लागि आमन्त्रण गरिनेछ । महत्वपूर्ण कार्यक्रमहरूमा अतिथिकै रूपमा पनि बोलावट हुन सक्ने छ । बेला बेलामा मिडियामा अन्तरवार्ता भइरहने छ । यसरी फाइदा दुबै पक्षलाई हुने छ । अझ सम्मान पाउनेलाई बढी नै फाइदा छ । कम्तिमा फाइदा नभए पनि घाटा कहिल्यै हुँदैन ।

सम्मान कार्यक्रमलाई ब्यबसायीक रूप दिनका लागि बर्षको कम्तिमा पनि तिन पटकसम्म अन्य खालको अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गर्ने र त्यसमा सम्मान कार्यक्रम पनि राख्ने । यसरी सम्मानलाई ब्यवसायको रूपमा फष्टाउन सके नेपालको पर्यटन ब्यबसायमा कसैले कसैलाई अपमान गर्ने भन्ने कुरो नै हँदैन । जहाँ पनि सम्मानै सम्मान हुने छ । ब्यवसायी–ब्यवसायीको बिचमा पनि भाइचाराको सम्बन्ध स्थापित हुने छ ।

यो ब्यवसायको अर्को सकारात्मक पाटो भनेको एउटा कालखण्ड बित्दा नेपालका प्राय सबै पर्यटन ब्यवसायीहरू सम्मानित भैसकेका हुने छन् । र, अझ अहिले दोहर्याएर सम्मानित हुन खोज्नेले त तेहर्याएर पनि सम्मानित हुने मौका पाउने छन् ।

 

तपाईको प्रतिक्रिया