शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो-पछिल्लो बर्षहरुमा जापान आउने पर्यटकहरुको संख्या बृद्धी भएसँगै त्यससँग सम्बन्धित बिबिध समस्याहरु पनि देखिन थालेका छन । जसमध्ये यात्राकै क्रममा बिरामी भई आकस्मिक रुपमा अस्पताल भर्ना हुने र सो बापतको खर्च नतिर्ने पनि एक समस्याको रुपमा आउन थालेको छ । सो रकम गत ३ महिनाकै बिचमा डेढ करोड येन भन्दा बढी भएको ओकिनावा टाइम्सले प्रकाशित गरेको छ ।

जापान भ्रमणको क्रममा बिरामी तथा चोटपटक लागेमा बिदेशी पर्यटकहरु आकस्मिक रुपमा अस्पताल भर्ना हुने, त्यहाँबाट डिस्चार्ज हुने बेलामा भुक्तानीको लागि पर्याप्त नगद पनि नहुने र क्रेडिट कार्ड पनि नहुने पर्यटकहरुले उपचार शुल्क भुक्तानी नगरी निस्किने गरेको टोकियो सिन्बुनको समाचारमा उल्लेख छ । जापानमा स्वास्थ्य बिमा नभएका ब्यक्तिहरुका लागि उपचार खर्च अत्याधिक महंगो पर्न जान्छ । केही समयको लागि आउने हुनाले ति पर्यटकहरुले बिमा नगर्ने र सानो केही बिरामी पर्दा पनि उपचार खर्च महंगो पर्ने गरेको छ । यस सम्बन्धी ओशाका प्रान्तले गरेको एक सर्बेक्षणमा बिदेशी पर्यटक भर्ना भएको अस्पतालहरु मध्ये ३० प्रतिशतले यस किसिमको समस्या भोगेको बताईएको छ । एउटै बिरामीको करीव ८० लाख येन भुक्तानी नभएको उदाहरण पनि त्यसमध्ये रहेको समाचारमा उल्लेख छ । यस किसिमको समस्याले नागरिकको बिमा शुल्क भारमा प्रत्यक्ष असर नपर्ने भएपनि अस्पतालको आर्थिक ब्यवस्थापनमा भने अप्ठ्यारो पर्नसक्ने अनुमान गरिएको छ ।

जापान भ्रमणमा आउने बिदेशी पर्यटकको संख्या सन् २०१० मा करीव ८६ लाख रहेकोमा सन् २०१६ मा अहिलेसम्मकै सबैभन्दा बढी २ करोड ४० लाख ४० हजार पुगेको थियो । उक्त संख्या सन् २०२० सम्ममा बार्षिक ४ करोड पुर्याउने जापान सरकारको लक्ष रहेको छ । जापान पर्यटन बिभागका अनुसार करीव ३० प्रतिशत पर्यटकहरु यात्रा बिमा नगरी जापान भ्रमणमा आउने गरेकोले उपचार खर्च बाँकी राख्ने समस्या भएको बताईएको छ ।***

तपाईको प्रतिक्रिया