चुडामणिको बन्दी प्रत्यक्षीकरण रिट तीन दिनदेखि ‘हेर्दाहेर्दै’मा

काठमाडौं – आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा आज तेस्रो दिन पनि हेर्दाहेर्दैमा परेको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गएको मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको थियो । सर्वोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो । त्यसै अनुसार शुक्रबार सर्वोच्च अदालतमा उनलाई पेश गरिएकोमा न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले हेर्दाहेर्दैमा राखेको थियो ।

साउन १ गते सर्वोच्च अदालत बन्द हुने भए पनि बन्दी प्रत्यक्षीकरणको यही एउटा मुद्दाका लागि चोलेन्द्र र प्रकाशमानको इजलास राखिएको थियो। तर आइतबार पनि मुद्दा हेर्दाहेर्दैमा रह्यो । आज सोही इजलासले दिनभर सुनुवाई गरे पनि मुद्दा हेर्दाहेर्दैमा नै रह्यो ।

उता अख्तियारले भने आइतबार चुडामणिविरुद्ध विशेष अदालतमा अहिलेसम्मकै ठूलो भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित