निजी आवासका लागि ०७५ असारसम्म मात्र अनुदान लिन सकिने

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम मिति निश्चित गरेको छ । निर्देशक समितिको वैठकको निर्णय अनुसार प्राधिकरणले समय सिमा तोकेरै अनुदान लिन लाभग्राहीलाई आग्रह गरेको हो ।

प्राधिकरणले निर्धारण गरेको तालिका अनुसार लाभग्राहीले आगामी असार मसान्तभित्र निजी आवास पुनर्निर्माण सम्बन्धी सम्पूर्ण अनुदान लिइसक्नुपर्नेछ । निजी आवास पुनर्निर्माणको लागि अनुदान सम्झौता भई घर निर्माण शुरु गर्नेको संख्या कम रहेकाले पुनर्निर्माण कार्यलाई तिव्रता दिने उद्देश्यले भूकम्प प्रभावित ३१ जिल्लामै लागू हुने गरि समय सिमा निर्धारण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताउनुभयो ।

निर्धारित तालिका अनुसार पहिचान भएका सवै लाभग्राहीहरुले आगामी कार्तिक मसान्तभित्र अनुदान सम्झौता गरि प्रथम किस्ता लिइसक्नुपर्नेछ । यस्तै २०७३ पौष मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले २०७४ पौष मसान्तसम्म र आगामी कार्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी चैत्र मसान्तभित्रै दोस्रो किस्ता लिइसक्नुपर्नेछ ।

यस्तै २०७४ पौष मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्नेछ । प्राधिकरणले २०७४ चैत्र मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ असार मसान्तसम्म अन्तिम अर्थात तेस्रो किस्ता लिइसक्नुपर्ने जनाएको छ ।

हालसम्म निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ६ लाख २८ हजार ८ सय २२ घरधुरी मध्ये ५ लाख ९४ हजार १ सय ५० घरधुरीले पहिलो किस्ता लिइसकेपनि ५२ हजार १ सय ६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित