बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानको राजधानी टोकियोको सिन्ज्युकु नजिकै अवस्थित नेपालीहरुको घनाबस्ती रहेको शिनओकुबोमा युकाता मात्चुरी (पर्व) हुने भएको छ ।

यहि जुलाईको २८ तारिखदेखि अगस्तको ६ तारिख १० दिनसम्म शिनओकुबोमा युकाता मात्चुरी चल्ने शिनओकुबो स्योतेनगाइले जनाएको छ ।

जापानमा आफ्नो निश्चित एरियाका उद्यमी, ब्यवसायी तथा स्थानीय जनता मिलेर बजार ब्यवस्थापन र प्रबर्द्धन गर्ने, चाडपर्व, परम्परा, कला, सँस्कृति तथा मौलिक सँस्कारको संरक्षण एवं संबर्द्धन गर्दै सामुदायिक हितका लागि विभिन्न गतिबिधिहरु सञ्चालन गर्न हरेक बजार क्षेत्रहरुमा स्योतेनगाई (बजार ब्यवस्थापन तथा प्रवर्द्धन समिति) गठन भएका हुन्छन् । जसअनुसार हरेक वर्षझैं यस वर्ष पनि युकाता मात्चुरी गर्न लागेको शिनओकुबो स्योतेनगाइका अध्यक्ष इतो सेत्सुकोले समुद्रपारिलाई बताईन् ।

बिश्वका बिभिन्न मुलुकका बिदेशीहरु बिभिन्न पेशा, ब्यवसाय र रोजगारीका साथै बसोबास गर्दै आएको शिनओकुबो एरिया हालसम्म कोरियन टाउनका रुपमा परिचित हुँदै आएको भए पनि अब नेपालीहरुको बाक्लो बस्ती र चहलपहलका कारण नेपाली बजारकारुपमा बिकसित हुँदै गईरहेको अध्यक्ष इतोले बताईन् ।

आफ्नो बजार क्षेत्रको बिकास र बिस्तारका साथै जापानी सँस्कार र सँस्कृतिको संरक्षण एवं प्रबर्धन गर्दै तत्सम्बन्धमा त्यस क्षेत्रमा रहेका बिदेशीहरुलाई पनि परिचित गराई जापानी नागरिकहरुसंग घुलमिल बढाउने र जापानी र बिदेशीहरुबीच पारस्परिक सम्बन्ध, सहयोग र सद्भावको अभिबृद्धि गर्दै आपसमा मिलेर बस्ने सँस्कारको बिकास गर्ने उद्देश्यले पनि समय समयमा बिभिन्न मात्चुरीहरु हुँदै आईरहेको अध्यक्ष इतोले बताईन् ।

१० दिनसम्म चल्ने युकाता मात्चुरीमा आ-आफ्नो अनुकुलता अनुसार सहभागी भएर जापानी समुदायसंग घुलमिल बढाउन पनि अध्यक्ष इतोले यस क्षेत्रका अन्य बिदेशीहरुका साथै नेपालीहरुमा अपील गरेकीछिन् । सो अवधिभर जापानीहरु एकप्रकारको परम्परागत जापानी पोशाक ’युकाता’ लगाएर मात्चुरीमा सहभागी हुने गर्दछन । बिदेशीहरुले पनि युकाता लगाएर मात्सुरीमा सहभागी हुन चाहेमा १ दिनको ३ हजार येन भाडामा उपलब्ध हुने उनले बताईन् ।
अध्यक्ष इतोका अनुसार मात्चुरीका सहभागीहरुलाई सो अवसरमा शिनओकुबो एरियाका बिभिन्न पसल तथा रेष्टुरेन्टहरुले बिशेष सेवा र सहुलियतका कुपन उपलब्ध गराउने भएका छन् भने सो अवसरमा खिचिएका फोटोहरुबाट गोलाप्रथाद्वारा एक जोडीलाई २ दिन होटल ब्यवस्थासहित होक्काईदोको हवाई टिकट र अर्को एकजोडीलाई डिज्नी रिसोर्टको टिकट उपहार प्रदान गरिने भएको छ ।

शिनओकुबो एरियामा बढ्दो नेपाली गतिबिधिहरुप्रति संकेत गर्दै अध्यक्ष इतोले जापानको नियम कानुन पालना गरी अनुशासित भई आपसमा मिलेर बसिदिए सबैका लागि राम्रो हुने बताईन् । पछिल्लो समयमा नेपालीहरुबीच होहल्ला तथा आपसी झैंझगडाका कारण समस्याहरु बढ्न थालेको स्थानीय प्रहरीहरुबाट जानकारीमा आएको पनि उनले बताईन् । स्थानीय जापानी समुदायमा नकरात्मक असर पर्ने भएकोले बिदेशीहरुबाट कुनै पनि प्रकारको अवाञ्छित क्रियाकलाप नहोस् भन्ने आफुहरुको तिब्र चाहना रहेको पनि अध्यक्ष इतोले बताईन् ।

शिनओकुबो स्योतेनगाइले अन्यत्रको स्योतेनगाइले जस्तै वर्षभरिका बिभिन्न ऋतुहरु जस्तै बसन्त, गृष्म, शरद र शिशीरका समयमा जापानी सँस्कृतिसंग सम्बन्धित बिभिन्न किसिमका मात्चुरीहरुको आयोजना गर्दै आईरहेको छ । यसपटकको युकाता मात्चुरीलाई मोबाईल कम्पनी एयु (AU) र एचआइएस (HIS) ट्राभलले प्रायोजन गरेको जनाईएको छ।***

तपाईको प्रतिक्रिया