शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर पनि उपत्यकामा खानेपानी बिक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको छैन।

सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण वर्षेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको शिकार बन्दै छन्।

उपत्यकामा खानेपानी प्रदुषित भएकै कारण जुनसुकै समय हरेक खालका नयाँ नयाँ रोगको त्रास फेलले गरेको विशेषज्ञहरूको ठम्याइ छ। हाल काठमाडौंमा वितरण भइरहेको पानीमा स्वास्थ्यमा प्रतिकुल असर पार्ने ब्याक्टेरिया ७० प्रतिशतभन्दा बढी फेला परेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।

काठमाडौँ जिल्ला जनस्वास्थ्य प्रमुख डा. महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकाको पानीमा कोलिफर्म मिसावट भएकाले पानीलाई उमालेर पिउन सुझाव दिनुभयो। उहाँले धाराको पानी, ट्याङ्करको पानी र जारकै पानीसमेत उमालेर पिउन सुझाव दिँदै पानी प्रदूषित हुनसक्छ भन्ने जान्दाजान्दै पनि सतर्कता नअपनाइएमा सरुवा रोग फैलनसक्नेतर्फ सचेत गराउनुभयो ।

उहाँले उपत्यकामा झाडापखालादेखि बर्डफ्लु, स्वाइनफ्लु, स्क्रप टाइपस, डेङ्गु मलेरियाजस्ता सरुवा रोगको जोखिम रहेको भन्दै कीटजन्य, पक्षीजन्य तथा पशुजन्य रोगबाट जोगिन सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले धारामा आउने पानी, ट्याङ्करले ओसार्ने पानीमात्रै नभई जार र मिनिरल वाटरको रूपमा बोतलमा पाइने पानीमा समेत कोलिफर्म भेटिएको जानकारी दिनुभयो ।

अघिल्लो वर्ष ललितपुरमा खानेपानी परीक्षण गर्दा ८१ प्रतिशत पानी अशुद्ध भेटिएको थियो । उहाँले यो वर्ष विगतको भन्दा बढी भेटिने सम्भावना रहेको बताउनुभयो । गत वैशाखयता ट्याङ्कर, जार, धारा तथा बोतलको गरी ६० वटा नमुना पानी परीक्षण गरिएकोमा ३९ वटा नमुनामा कोलिफर्म भेटियो भन्दै शर्माले यिनै जीवाणुले हैजाको महामारी फैलाउने बताउनुभयो।

 

तपाईको प्रतिक्रिया