जापानका कुकलार्इ बलिको ‘बोको’ बनाउने कहिलेसम्म ?

सर्वप्रथम म क्षमा माग्न चाहन्छु जहाँ मैले लेखको शीर्षकमा नै ‘बोको’ शब्दको प्रयोग गरें । नेपाली समाजको लागि यो अपाच्य शब्द हुनसक्छ भलै निकै चालु शब्द भने हो । मैले आत्मनिर्णय गरें यो शब्द प्रयोग नगरौ त यो लेखलाई अन्याय हुन्छ । जापान जस्तो प्रबिधिमा चरमचुली चुमेको देश, हरेक विकासोन्मुख देशका हामीजस्ता नागरिकहरूको लागि सपनाको रंगीन देश । हरेकको यही रंगीन देशको रंगीन सहरमा नियाल्ने हो भने अनगिन्ति सपना र अदभुत आकांक्षाअपेक्षाहरू छन् । न त कोही यहाँ सपना देख्न लाज मान्छन न त सपना देखाउनेले लज्जाको कुनै महसुश नै गर्छन । सपना देख्ने र देखाउनेको अत्यन्तै घनिष्ट सम्बन्ध छ यहाँ तर फगत केही क्षणिक समयको लागि मात्र । कहिलेकाहीं जीवन धान्नको लागि वाध्यताले यौन पेशा अपनाउने यौनकर्मी र घरवालीको प्यार नपुगेर या त अरू कुनै कारणले त्यस्ता ठाउँमा धाउने ग्राहकसँग पनि तुलना गर्न मन लाग्छ यी दुर्इ पाटोलार्इ । ग्राहक आए मात्र कसैको हातमुख जोरिन्छ र उता घरवालीको प्यार ज्यादा भएर या त नपाएर वा अरू कुनै गाैण कारणले क्षणिक रमाइलोमा भुले झैं गर्छन एक पक्ष । तर यो भन्नैपर्छ दुनियाँ यसरी नै चलेको छ ।

भो लामो भूमिका नबाँधाैं । अब कुरा गरौ जापानका नेपाली कुकको । हामीलाई देशमा काम गर्न पनि गाह्रो छ । अझ सजिलोको लागि काम गर्ने वातावरण छैन भन्न सजिलो होला । देशमा भएको राजनीतिक अस्थिरता, हरेक दिनको वन्द हड्तालले गरिखान असर गरेको पक्कै हो तर सबैथोक यही मात्र पनि होइन । हामीमा देशमा केही गर्न जाँगर छैन । इच्छा छैन । अनि फेरी हामी कामको दर्जा निर्धारण गर्छाैं । यो महिलाले गर्ने काम, त्यो पुरुषले गर्ने, यो यो जातले गर्ने अनि त्यो उ जातले गर्ने । सपना टेक्सासमा ट्याक्सी चढ़ने, टोकियोमा टोकियो टावर पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने । सिड्नीमा सरक्क हुईकिने उत्कट चाहना छ । चाहना एक हिसावले जायज पनि हो तर ओछ्यानमा पल्टेर हिन्दी मुभि हेर्दै पुरा नहुने कुरा सोच्नु अपराध नै हो । हामीलार्इ हाम्रै आफन्त, सांथीसंगी जो पहिल्यै ड्रीम कन्ट्री गएका छन उनीहरुको ठुला बगैचा, चिल्ला सडक र गगनचुंबी महलको आसपासमा खिचेको सेल्फीले लोभ्याएकै छ । फलानोले अमेरिका गएर जिन्दगी सपारयो । चितवन ५ करोडको घडेरी जोड्यो । खेत किन्यो । ढिस्कानोले जापान गएर काठमाण्डाैमा ४ तले घर बनायो । हामीलाई यी यस्ता कुराहरूले रातदिन पिरोल्छ । अनि हतार हुन्छ कहिले जाने विदेश अनि अामाबाबुको सपना कहिले पुरा गर्ने ? बुढ्याैलीले गाँज्दै लगेका अामाबाबु त वहाना मात्र हुन् । अाफू विदेश छिर्दाको भोलिपल्टै छोराछोरी पढाउने नाउँमा गाउँको खेतिपाती सबै बुढा अामाबाबुको जिम्मा लगाएर श्रीमतीको बसाइ सहरतिर सार्छाैं हामी । त्यसैको लागि जसरी हुन्छ छिट्टै जापान जान पाए मात्र मैले पनि देखाई दिन्थे भन्ने हुटहुटीले राम्रैसँग गाँज्छ । कुनै हालतमा जापान जानु छ कोहीका रहर छन, कोहीको व्यवहार र ऋण छन त कोहीलाई घरको किचकिचबाट टाढा भाग्नु पनि छ । त्यसो त कसैलाई सहरमा केही जोडनु छ त कसैलाई आफन्तको हाराहारीमा पुग्नु छ । चर्को व्याजमा ऋण गरेर हुन्छ या त गैरी खेत कौडीको मूल्यमा बिक्री गरेर हुन्छ या धितो राखेर हामी १२ लाखको व्यापक खोजी हुन्छाैं । मानौ १२ लाख बुझाए संसार तुरून्तै बदलिन्छ अनि सबै-सबै सपनाहरू एक-एक गरेर पुरा हुनेछन् । हामीलाई १२ लाख कहाँ लगेर खनाउँ जस्तो हुन्छ । दलालको सन्जाल घर-घरमा छ, चोक-चोकमा छ, गल्ली-गल्लीमा छ अनि पाखा-पाखामा छ । साईन बोर्ड मात्र झुन्डाईएको छैन तर काम कुरो सबै हुन्छ । अनि १२ लाखे खसी बनेर जापानतिर डोरयाईन्छ । जापान छिरेपछि पनि हरेक पाइला पाइलामा मार हान्नेहरू तम्तयार भएर बसेका छन् । काम खोज्न जाउ, त्यही मार हान्छन्, भिसा नवीकरण गर्न जाउ, त्यही मार हान्छन् । परिवार जापान बोलाउन परयो त्यही मार हान्छन । महंगो व्याजले थिचेको गर्धनमा हरेक पाइला पाइलामा मार हानिन्छ ।

आफैमा पनि कति कमीकमजोरीहरू छन् । काम नै नसिकेर जापान आउन हतारिनु पहिलो गल्ती हो । काम के हो ? तलब कति पाइन्छ ? कति समयसम्म काम गर्ने सम्झाैता छन् ? यावत कुराहरू नबुझेरै रंगीन संसारमा हामफाल्नु हाम्रै कमजोरी हो । विदेश मोहको पागलपन हो भन्दा पनि फरक नपर्ला । दोष त बिचौलिया र दलालको पनि उत्तिकै छ तर चिलले सर्प देखे पछि शिकार नगरी आफ्नो गति रोकेंको ईतिहास छैन । दलाल अरु कोही हुँदैन तपाई हाम्रै चिनेजानेका मान्छे नै हुन्छन् चाहे त्यों रगतको नाता या अरु पनि हुन सक्छ । दलालले जापान त लैजान्छ उसको समाजमा ईमान जमान सबै बढ्छ फलानोलाई ढिस्कानोलाई जापान पुरयायो । १२ लाख तिरेको कुरा गाैण भैदिन्छ। गाउँ सहर जताततै फलानोको छोरो जापान गयो । फलानोले लगेर कसैको उन्नति प्रगति भयो भनेर जापान लैजानेकै चर्चापरिचर्चा हुन्छ । जापान आउने बेला दलालले पनि काम यही आएर सिके हुन्छ केही फरक पर्दैन नजाने पनि फरक पर्दैन भन्छन् अनी हामी मख्ख पर्छाैं । यहाँ अर्काको छोराछोरीलाई आफ्नो बनाउने, उमेर घटाउने बढाउने त सामान्य नै भईसक्यो । यी कुरा अरू कुनै दिनको लेखमा विस्तार गरौला । जापान आएदेखि कहाँ खाने कहाँ सुत्ने केही ठेंगान नै हुँदैन । पहिलो पटक अाउँदा एयरपोर्ट सम्म लिन पनि जाँदैनन् साहुजीहरू । नयाँ ठाँउ न भाषा न त संस्कार नै थाहा हुन्छ यहाँको । एयरपोर्ट कटेदेखि नै दुःखका दिन शुरू हुन्छ । २ जना मान्छे नअटने किचन, गर्मीमा अति गर्मी, जाडोमा महाजाडो । विजुलीको विल धेरै अाउँछ भनेर एअरकन्डिशन र हिटर चलाउन पनि दिंदैनन् साहुजीहरू । रेष्टुरेन्टमा पाहुना नअाएपनि टेन्सन, अाए पनि टेन्सन । विहान ९ बजेदेखि रातीको ११, १२ बजेसम्म काममा नै जोतिनुपर्छ । काम नजानेपछि मुटु छेंड्ने बचन त भइ नै हाल्यो । राम्ररी काम नजानेसम्म तलव पाउने भन्ने कुरा परको कुरा हो । काम गर्ने ज्यानपाल्ने मात्र हो । लाख बढी तलव भनेर ल्याइएकाहरू केही हजार पाउन मुस्किल हुन्छ यहाँ । अनि त्यही पाराले कहिले तिर्ने अाएको ऋण अनि कहिले पुरा गर्ने ती रंगीन सपनाहरू ?  धेरै दिनको तपस्या र अनुनय विनयपछि बल्ल साहुजी परिवारको भिसा एप्लाइ गरिदिने कुरामा सहमत हुन्छन् पैसा लिएर । हरेक कुरामा तनावै तनावको जिन्दगी चलेकै छ दाजुभाइहरूको । कतिपय ठाउँमा त कामदारहरूबाट सामाजिक काम गर्नको लागि भनेर मासिक २ र ४ हजारको दरले उठाउने गरेको पनि पाइएको छ । त्यही पीडित कुक दाजुभाइहरूबाट उठाएको पैसा कतै दान गरेर समाजसेवी कहलिन्छन् यहाँका ठूलाबडा समाजसेवी भनाउँदाहरू ।

यसरी घरदेशदेखि नै परदेशसम्म एकपछि अर्को र फेरि अर्को पछि अझ अर्को गरी वलिको बोको बनाएका छन् धेरै सीधासाधा नेपाली कुकहरूलाई । र, अन्तमा म अाफै पनि सोच्छु । सायद तपाइँहरू पनि सोच्नुहुन्छ होला यसरी बलिको बोको बनिरहने कहिलेसम्म ?

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित