हैन साँच्चै, हुन पनि हामी नेपाली के भा’को ?

केही समय अगाडि एकजना जापानी नागरिकले एक मिडियालाई दिएको अन्तरवार्तामा भनेका थिए–‘जापान आएका नेपालीले देश फेरे, भेष फेरे तर व्यवहार फेर्न सकेनन् ।’ हुन पनि केही बेर घोत्लिएर सोच्ने हो भने अनि यस लेखमा तल उल्लिखित प्रसंगहरु केलाउने हो भने उनले भनेका कुरा सही हुँदै होइन भन्न सकिन्न । आत्मा साक्षी राखेर जोडघटाउ गर्दा एकपटक आफैपनि ती जापानी नागरिकले भनेका कुरा मनमनै फुसफुसाउन मन लाग्छ–‘जापान आएका नेपालीले देश फेरे, भेष फेरे तर व्यवहार फेर्न सकेनन् ।’ यहाँनेरी एउटा कुरा के भन्नै पर्छ भने भनिएका र लेखिएका कुराहरु सबैका लागि होइन, यो उनीहरुमा नै समर्पित छ–‘जो जससँग सम्बन्ध छ ।’

‘कान्छी ! कामबाट थाकेर आयौ हौली, आउनु यता थकाई मारौं’ –कामबाट रातको १२ बजेतिर कोठामा फर्कंदै गरेकी एक नेपाली युवतीलाई सिनओकुवो स्टेशननजिकै केही नेपाली ठीटाहरुले जिस्क्याए । उनी एक्लै थिइन, केही प्रतिवाद गर्ने स्थान र समय त्यो थिएन नै त्यसैले सुने पनि नसुने झैं गरेर मोवाइल हेर्दै सरासर कोठातिर दौडिन् । विदेशको ठाउँमा, मध्यरातमा कामबाट फर्कंदा आफ्नै नेपाली दाजुभाइले यसरी जिस्क्याउँदा उनको मन निकै कुँडियो । उनी घर पुगेपछि पनि धेरैबेर निदाउन सकिनन् । नेपालीहरुको बाक्लो बस्ती र उपस्थिति भनिएको सिनओकुवो नजिकै बस्ने ती युवतीलाई कताकता नमज्जा लाग्यो । उनले आफूलाई असुरक्षित महसुस गरिन । उनीले आफ्नै मनसँग मनमनै सयौं प्रश्नहरु गरिन–‘केही परेमा सहयोग गर्नुपर्ने नेपाली दाजुभाइबाटै डराउनु पर्ने के अवस्था आयो यो ? जापानमा यो के हुँदैछ ? बरु अन्य मुलुकका नागरिकहरुले त्यसो गर्दैनन्, हाम्रा नेपालीलाई के भा’को ?’

यो त एउटा उदाहरण हो । यस्ता घटना दिनदिनै बाक्लिंदै गएको गुनासाहरु सुन्नमा आईरहेको छ । मध्यरातसम्म बाटो छेउमै बसेर चुरोट तान्ने, वियर पिउने अनि कसैको प्रवाह नगरी मनलाग्दी बोल्ने । सिनओकुवो नजिकै बस्ने अर्का युवतीले भनिन्–‘साँझ परेपछि त बाटो हिड्नै लाजमर्नु भैसक्यो ।’ उनी भन्छिन्–‘अनुशासित भएर खाऊन्, उनको सम्पत्ति खाए कसैले केही भन्दैनन् तर नेपालीको ईज्जतै जाने व्यवहार गरेर के गर्न खोज्या हो ?’

त्यसो त बिहानै काममा जान हिडेकी अर्का युवतीलाई देखेर ३ जनाको समूहमा ट्रेन चढ्न लागेका नेपाली ठीटाहरु सीधै ठोक्किन आए । ट्रेन चढ्ने बेलामा जानाजान ठोक्किन आउने, ट्रेनभित्र हुने नहुने बोल्नेजस्ता क्रियाकलापले उनी पनि हैरान परेकी छिन् । ट्रेन चढ्ने समय एउटै भएर होला सायद, उनीहरु प्रायः भेटिन्छन् । उनी भन्छिन–‘सकेसम्म उनीहरु चढेको डिब्बामा चढ्दिन यदि एउटै डिब्बामा परें भने पनि अर्को डिब्बामा सर्ने गरेकी छु, तर विहानको भीडभाडमा रेलको डिब्बा परिवर्तन गर्न पनि त्यति सजिलो भने छैन ।’ हालैका दिनमा टोकियो सिनओकुबो क्षेत्रमा नेपालीहरुको नराम्रो गतिविधी बढेको यहाँका जानकारहरु बताउँछन् । सिनओकुबो नजिकै बस्दै आएका एक युवकले यो पंक्तिकारलाई बताए–‘प्रायः हरेक दिन लडाई परेको कुरा मात्रै सुन्नुपर्छ, राती कामबाट घर फर्किंदा बाटोतिर रल्लिएकाहरुले निहुँ खोजेर झगडा गर्न आउने हुन कि झैं लाग्छ, त्यसैले यतातिर बस्न ठीक नलागेर अहिले अन्तै कोठा सर्ने मेलोमेसो गर्दैछु ।’ हैन साँच्चै, हुन पनि के भा’को ? यस क्षेत्रका रेष्टुरेन्टहरुमा सँधै झगडा भएको सुनिन्छ । साथीभाई जम्मा भएर खाईपिई गरेपछि झगडा नै गर्नुपर्छ भन्ने के छ ? जापान विदेश हो, यहाँ हामी सबै विभिन्न उद्देश्यले आएका छौं । किस्ताबन्दीमा निद पुर्याएर, नसुतेरै देखेका कैयौं सपनाहरु पुरा गर्न लागि परेका छौं । एक आपसमा मिलेमतो गरी अगाडि बढ्न सके के हामी नेपालीको पहिचान नै गुम्ने हो र ? बुद्धका देशमा जन्मेका हामी कहिल्यै बुद्ध बन्न सकेनौं न त बन्ने प्रयत्न नै गरेका छौं । झगडाले केही जित्न सकिन्न भन्ने अनुभवी जापानी नागरिकबाट हामीले जापानमै रहेर पनि केही सिक्नै सकेनौं । पढेर मात्र होइन परेर पनि धेरै जानिन्छ । व्यवहारमा परेर, अनुभव गरेर हामीले केही सिक्नै सकेनौं । शैक्षिक प्रमाणपत्रहरु हेर्ने हो भने जापान आएका हामीहरु धेरै पढेलेखेका छौं तर व्यवहारिक ज्ञानको भने कमी नै भन्दा फरक नपर्ला । शिक्षा त त्यस्तो हुनुपर्दछ जसले सभ्य र शालीन समाज निर्माणमा टेवा देओस । भर्खर–भर्खर जापान आएको बेला यो पंक्तिकारलाई कतै नेपाली अनुहारजस्तो व्यक्ति भेटियो भने पनि बोलुँ बोलुँ लाग्थ्यो । विदाको दिन पारेर नेपाली रेष्टुरेन्टमा खाना खान गइन्थ्यो । नेपाली रेष्टुरेन्टमा गएर नेपाली दाजुभाईसँग दुःखसुखका कुराकानी गर्न पाउँदा, नेपाली खाना खान पाउँदा कम्ती खुशी त हुन्थेन यो मन । नेपाली रेष्टुरेन्टमा झुण्ड्याएर राखिएका मादल, सारंगी र खैजडीहरु हेरेर मात्रै मन नबुझेर झिकेरै बजाइन्थ्यो ।

तर अहिले परिस्थिति फेरिएको छ । साथीभाई तथा परिवारको जमघट नेपाली रेष्टुरेन्टहरुमा गर्न गराउन मन नपर्ने नेपालीहरुको संख्या बढ्दै गईरहेको अनुमान लगाउन सकिन्छ । आज फलानो रेष्टुरेन्टमा जाऔं भन्यो भने झगडा हुन्छ भो नजाउँ भनेर अनुहार विगार्ने धेरै नेपालीहरु भेटिन थालेका छन् । केही समय अगाडि जापानी प्रहरीले नेपालीहरुमाथि निगरानी बढायो भन्ने समाचारहरु पनि संचार माध्यमहरुमा आए । कतिपय घटनाहरु प्रहरीकोमा पुग्नै पाउँदैन त कतिपय पुगेर पनि बाहिर आउँदैनन् । बदमास गरेकै कारण थुप्रै नेपालीहरु जापानमा जेलनेलको अनि मुद्दा लडिरहेको कुरा पनि बाहिर आउँछन् । संख्या बढेसँगै समस्याहरु पनि उत्तिकै बढेका छन् । समस्याका प्रकृति पनि फेरिएका छन् । नेपाली दाजुभाइ बीचमै झै–झगडा, तँ भन्दा म के कम भन्ने जस्ता केटाकेटी पाराको झगडा गर्ने हाम्रो प्रवृत्तिले नेपालीहरु भेला भएको ठाउँमा झगडा हुन्छ भन्ने जापानीहरुमाझ पनि नराम्रो छाप पर्न गईरहेको कुरा अग्रजहरु बताउँछन् । के यही नै हो त हाम्रो पहिचान ? नेपाली भएर नेपालीलाई नै न्याक्ने, ठोक्ने, भुक्याउने के यही हो सही व्यवहार परदेशमा एक नेपालीले अर्को नेपालीप्रति गर्ने ? जापानी रेष्टुरेन्टहरुमा जानुभयो भने हरेक छुट्टाछुट्टै टेबलमा पिएर रमाइरहेका थुप्रै समूहहरु भेटिन्छन् तर उनीहरु एकआपसमा कहिल्यै झगडा गर्दैनन् । मादक पदार्थ सेवन गरेर होस गुमाउलान तर झगडा गर्नुहुँदैन भन्ने चेत कहिल्यै गुमाउँदैनन् । नेपालीहरुबीच त्यसरी एउटै रेष्टुरेन्टको छानामुनि जमघट हुने हो भने झगडा भएरै छाड्छ । हामी नेपाली वीरका सन्तान हौं भन्ने पहिचान देखाउन त्यसो गरिएको हो ? सायद जति लेखेपनि कमै हुन्छ । राम्रा काममा हात हालेर राम्रै प्रतिफल पाउनेहरु पनि नभएका भने होइनन् । तर ९९ वटा राम्रो काम गरेर १ काम मात्रै नराम्रो हुन गयो भने पनि सबै नराम्रो भन्ने छाप पर्दछ ।

तसर्थ, अझै समय छ, केही बिग्रिसकेको छैन । बेलैमा हरेक क्षेत्रबाट सबैले सप्रिएर अगाडि बढ्न सकियो भने भोलिका दिनमा जापान आउनेहरुको लागि पनि राम्रो हुने कुरामा आशा गर्न सकिन्छ । अनुशासन नै सबैभन्दा ठूलो कुरा हो । अनुशासनले नै मानिसको वास्तविक परिचय दिन्छ । जापानका अग्रजहरु, यहाँका संघसंस्थाहरु सबैले यी यावत कुराहरुमा बेलैमा ध्यान दिन जरुरी छ । त्यति मात्र नभएर हरेक नेपालीले आ–आफ्नो ठाउँबाट आजैदेखि सोचौं । सबैले एउटै कुरा मनन गरौं–‘सके केही गरौं, नसके नबिगारौं’ । होइन भने, नेपालीको इज्जतमा दाग लाग्न अब समय धेरै छैन । अन्तमा फेरि पनि दाेहाेर्याउँछु, यो उनीहरुमा नै समर्पित छ–‘जो जससँग सम्बन्ध छ ।’ अस्तु ।
[email protected]

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित