शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – रामेछापको दुर्गम मानिने तत्कालिन सैपु गाविसमा करीब साढे पाँच वर्षअघि भएको एक किशोरीको हत्याकान्डका आरोपीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। १४ वर्षीय सुन्तली तामाङको हत्याकान्डपछि भारतमा बस्दै आएका सोही ठाउँका श्याम राउत पक्राउ परेका हुन् ।

घटनापछि भारतको अन्डमान निकोबार टापुमा बस्दै आएका राउतलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा आईतबार भैरहवा सीमा नाकाबाट पक्राउ गरी काठमाडौं ल्याइएको मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश केसीले जानकारी दिनुभयो ।  केसीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी राउतले आफू सो घटनाको मुख्य अभियुक्त भएको स्विकार गरेको पनि जानकारी दिनु भएको हो ।

प्रहरीले पीडित पक्षको गोप्य सूचनाको आधारमा अभियुक्त राउतलाई पक्राउ गर्न सहज भएको जनाएको छ । रामेछाप सैंपूकी डिल्लीमाया तामाङकी १४ वर्षीया छोरी सुन्तलीको २०६८ सालमा स्थानीय लिखुखोलाको झोलुंगे पुलमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

घटनालगत्तै फरार रहेका आरोपी राउत भारतको विभिन्न सहरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया