शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – नयाँ शक्ति पार्टी नेपालका नेता एवं संगठन बिभाग प्रमुख देवेन्द्र पौडेलले आफ्नो पार्टीसंग देश बनाउने स्पष्ट खाका भएकोले अर्को चुनावमा पहिलो पार्टी हुने ठोकुवा गर्नुभएको छ ।

उहांले देशको राजनैतिक ब्यवस्था फेरिए पनि जनताको अवस्था फेर्न नसकिएकोले नयाँ वैकल्पिक शक्तिकारुपमा नयाँ शक्ति पार्टी जरुरत परेको बताउनुभएको छ ।

नेता पौडेलले आफ्नो पार्टी अरुको आलोचना र बिरोध गर्न जन्मेको नभएर पुरानै नारा र उही ब्यवस्थाले कहीं पनि पुग्न नसकिने भएकोले समयको माग अनुसार जनताको जीवनमा परिवर्तनका निम्ति नयाँ बाटो रोजिएको बताउनुभयो ।

नयाँ शक्ति पार्टी नेपालको जापानस्थित भात्तृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाजको आइतवार टोकियोमा आयोजित प्रथम अधिवेशन समारोहलाई प्रमुख अतिथिकारुपमा सम्बोधन गर्दै नेता पौडेलले अब देशको बाटो भनेको बिकास र आर्थिक समृद्धिको हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हालैमा सम्पन्न पहिलो चरणको स्थानीय निर्बाचनमा कतिपय स्थानमा वडा अध्यक्षमा प्रतिस्पर्धा गर्न ४ करोड खर्च भएको जानकारीमा आएको बताउँदै यसप्रकारको खर्चिलो निर्वाचनको अन्त्य हुनुपर्ने र सर्बसाधारण सबैले प्रतिस्पर्धा गर्न सक्ने निर्वाचन प्रणालीको पक्षमा नयाँ शक्ति पार्टी रहेको बताउनुभयो । पहिलो चरणको निर्बाचन गराउन राज्यको ३० खर्ब रुपैंया खर्च भएको प्रारम्भिक तथ्याङ्क बाहिर आएको बताउँदै पौडेलले संघीय चुनाव र प्रदेशको चुनाव हुन अझै बाँकी रहेको र मुलुकले धान्न नसक्ने यसप्रकारको पटक पटकको खर्चिलो निर्बाचन भन्दा एउटै प्याकेजमा सबै निर्बाचन हुनुपर्नेमा आफुहरुले जोड दिदैं आएको बताउनुभयो ।

पौडेलले भरखर जन्मेको १ वर्ष मात्र भएको नयाँ पार्टीले गएको पहिलो चरणको निर्बाचनमा चौथो स्थान हासिल गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो – ’यसरी नै गयौं भने अबको ३, ४ वर्षमा हामी पहिलो वा दोस्रो स्थानमा प्रतिस्पर्धा गर्न सक्षम हुने छौं ।’
’राजनैतिक आन्दोलन पुरै सकिएको छैन । तर पनि हिजोकै समाजको निरन्तरताले अब देशमा केही हुनेवाला छैन । समाज र देशको परिस्थिति फरक दिशातिर गएको हुनाले हामीले यो बिषय उठाएका छौं । अबको १, २ वर्ष भित्रमा बाध्य भएर सबै पार्टीले अबको निकास आर्थिक बिकास भन्ने नारा तय गर्नेछन् र उनीहरु हाम्रो एजेण्डामा सामेल हुने छन्’ – नेता पौडेलले भन्नुभयो ।
नयाँ शक्ति पार्टीसंग देश बनाउने योजना भएकोले आगामी २५ वर्षमा देशलाई संसारकै समृद्ध बनाउने हाम्रो सपना अन्ततः सत्य साबित हुने र सहि कुराले नेपालमा स्थान पाउने उहाँको दावी थियो ।

बाँकी रहेका राजनीतिक मुद्दाहरुका सन्दर्भमा संबिधानमा स्वामित्व छुटेको पक्षहरुलाई उनीहरुको अपनत्व सहित परिमार्जन गर्न बाँकी छ । त्यसलाई छलफल, बहस र सहमतिको आधारमा कार्यान्वयन गर्दै जानुपर्ने धारणा राख्दै नेता पौडेलले अरु थप कतिपय अधिकार प्राप्तीका बाँकी छुटेका बिषयहरुलाई हल गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

पुरानो घरमा फर्कन गरिएको आग्रहका सन्दर्भमा उहाँले भन्नुभयो – ’ ३४ बर्षसम्म त्यस पार्टीमा रहँदा मैले सकेको योगदान गरें, त्यहाँका साथीहरुसंग मेरो ब्यक्तिगतरुपमा राम्रो सम्बन्ध छ । तर हामीले सुरुवात गरेको यो रेललाई एउटा ठाउँमा नपुर्‍याईकन दायाँबायाँ बाटो बिराउने पक्षमा म छैन । त्यसैले यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

’अहिलेसम्म हामीले हिडेको बाटो न्याय, मुक्ति, स्वतन्त्रता र परिवर्तनका निम्ति थियो भने अब बिकास र समृद्धिका निम्ति स्वेच्छिकरुपमा भित्रैदेखि जागेर लागेको हुँदा यो सपना पुरा गर्नका लागि दृढतापूर्वक अगाडि बढ्ने छौं – नेता पौडेलले भन्नुभयो ।

‘स्थानीय निर्वाचनको परिणामबाट त्यति धेरै हौसिनुपर्ने र निराशा हुनुपर्ने केही छैन । भरखरै जन्मेको बच्चा पार्टीले
यसपालीको निर्वाचनमा सहभागी मात्र जनाएको छ, अर्को चुनावमा बैशालु र तकडा भएर अरु पार्टीसंग प्रतिस्पर्धा गर्न सक्षम भएर मैदानमा आउने छ । त्यही दिशामा हाम्रो यात्रा निरन्तर जारी रहने छ’ – नेता पौडेलले भन्नुभयो । ***

तपाईको प्रतिक्रिया