बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – पाकिस्तानको बहावलपुरमा तेल बोकेको ट्यांकर विस्फोट हुँदा कम्तिमा १२३ जनाको मृत्यु भएको छ । ट्याक्टरबाट चुहिएको तेल जम्मा गर्न मानिसहरुको भिड दागेको बेला आगलागी भएको थियो । कसैले धुमपान गरेका कारण आगलागी भएको र ट्यांकर विस्फोट भएको अनुमान गरिएको छ ।

ट्यांकर पल्टिएर सुरु भएको आगोको राजमार्गमा गुडेका अरु गाडीमा सल्किएपछि धेरै मानवीय क्षति भएको हो । ट्यांकर पल्टिएपछि चुहिएको तेल संकलन गर्न पुगेका स्थानीय बासिन्दा पनि अचानक आगो सल्किँदा जलेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा झण्डै ८० जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ ।

तर घाइतेको उपचारका लागि सुविधा सम्पन्न अस्पताल नजिकमा नरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रक खटिएका छन् । तेल ट्यांकर तीव्र गतिका कारण पल्टिएको र त्यसपछि आगो सल्किएको जनाइएको छ । पल्टिएको ट्यांकर नजिकै केही मानिसले चुरोट खाएको र त्यसैबाट आगो सल्किएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएको पाकिस्तानी टेलिभिज जियोले जनाएको छ ।

ज्यान गुमाउनेको पहिचान गर्न सकिने अवस्था नरहेको र त्यसका लागि डिएनए परीक्षण गर्नु पर्ने देखिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया