बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बूको अर्बुद रोगका कारण गए राति धरानमा निधन भएको छ ।
धनकुटास्थित साबिकको बूढीमोरङ गाविस– २, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानीबाट विसं २०१४ चैत ११ गते जन्मिनुभएकी लिम्बू त्यस क्षेत्रमा लोकप्रिय हुनाका साथै पार्टीकी प्रतिबद्ध नेत्री हुनुुहुन्थ्यो । विसं २०४९ मा उक्त गाविसको उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष निर्वाचित भएर जनताको सेवा गर्नुभएकी लिम्बूले २०५५ सालमा गाविस राष्ट्रिय महासङ्घको अध्यक्ष निर्वाचित भई देशभरका गाविसलाई नीतिगत नेतृत्व प्रदान गर्नुभएको थियो ।
विसं २०५३ देखि २०६१ सम्म तीन कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य र २०६२ मा कोसी अञ्चल समन्वय कमिटी सदस्य भएर पार्टीको जिम्मेवारी पूरा गर्नुभएकी लिम्बू २०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र २०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उहाँका पति, दुई छोरा र एक छोरी हुनुहुन्छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आजै बिहान धरान पुगेर दिवङ्गत लिम्बूको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिनाका साथै शोकसन्तप्त परिवारजनलाई समवेदना दिनुभएको छ । उहाँको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया