बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – संघीय समाजवादी फोरम नेपालको तर्फबाट नेपालगञ्ज उपमहानगरका मेयरका उम्मेदवार कमरुद्दीन राइनमाथि एमालेको पार्टी कार्यालय अगाडि आक्रमणको प्रयास भएको छ। गएराति दश बजे मेयरका प्रत्यासी राइन चढेको गाडीमा नेकपा एमालेको पार्टी कार्यालय नजिकै आक्रमण भएको हो ।

मुखमा नकाप बाँधेर मोटरसाइकलमा आएको समूहले गाडीमा अन्धाधुन्ध ईट्टाले हान्दै राईनमाथि आक्रमण गरेको फोरम नेपाल बाँके जनाएको छ । ईटा प्रहारबाट बा ९ च ६५२९ नम्बरको गाडीका सीसाहरु फुटेका छन् । उम्मेदवार राइनलाई भने कुनै चोटपटक लागेको छैन । फोरम नेपालले घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ । आक्रमण हुँदा राईन र उनका ड्राईभर गाडीमा थिए । उनीहरु चुनावी प्रचार–प्रसार सकेर जमुनाहास्थित घरतर्फ जाँदै गर्दा आक्रमण भएको हो ।

आक्रमण गर्नेहरु अहिलेसम्म पक्राउ परेका छैनन् । आक्रमण र दुव्र्यबहारविरुद्ध संघीय समाजवादी फोरमका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबारै राति नाराजुलुससहित त्रिभुवन चोकमा विरोध सभा आयोजना गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरेका थिए । संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार राईनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रको सामूहिक योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो ‘फोरमको चुनावी लोकप्रियताले उनीहरु आत्तिएका छन् । त्यसैले ममाथि आक्रमणको प्रयास गरेका हुन् ।’ धार्मिक र जातीय समिकरणले अति संवेदनशील मानिएको नेपालगञ्जमा विगतमा भएजस्तै साम्प्रदायिक दंगा भड्काउने प्रमुख तीन दलको योजना अनुसार घटना भएको राइनको दाबी छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले घटनामा संलग्नको खोजी कार्य भइरहेको बताउनुभएको छ । प्रजिअ पन्थले भन्नुभयो, ‘अनुसन्धान गरी घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई मैले निर्देशन दिइसकेको छु, जोकोही भए पनि कारबाही हुन्छ ।’

तपाईको प्रतिक्रिया