शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । झापाको भद्रपुरमा आज अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले जनलहर काँग्रेसको पक्षमा देखिएकाले काँग्रेस पहिला शक्ति बन्ने दावी गर्नुभयो ।

नेता सिटौलाले ‘मुलुकको आर्थिक समृद्धि काँग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्, त्यसैले काँग्रेस पक्षमा जनलहर बढेको छ’ बताउँदै “काँग्रेसका विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका छन्, यसको पछाडि नदौडनुहोस्, पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै एक्तावद्ध भएर लाग्नुहोस् भन्नुभयो ।” आफूलाई योद्धा बताउने तर हराउन पर्दा पछाडि भूमिका खेल्ने काँग्रेस नभएर अन्य दलका एजेन्ट भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘निर्वाचनमा पार्टी हराएर विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूर्ण छ’ ।

सिटौलाले भन्नुभयो, “सबै कार्यकर्ता एक ढिक्का हुनुहोस्, जीत सुनिश्चित छ ।” यसैबीच, दोस्रो चरण अन्तर्गत स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कँंग्रेस भद्रपुर नगरसमितिले घरदैलो अभियान सम्पन्न गरेको छ । असार १४ गते हुने चुनावका लागि दुई महिना अघिदेखि सञ्चालित उक्त अभियान आज भद्रपुरमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । नगरको १० वटै वडामा घरदैलो अभियानअन्तर्गत प्रचारप्रसार कार्यक्रमलाई समापन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिनुभयो ।

यता, काँग्रेस नगरसमितिले चुनाव लक्षित नयाँ रणनीतिक कार्यलाई तीव्रता दिने उपसभापति चौहानले जानकारी दिनुभयो । आजै काँग्रेसले नगरको १० वटै वडामा मतदाता प्रतिनिधि र स्वयम्सेवकलाई प्रशिक्षण प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया