शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – पेट्रोलियम व्यवसायीले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिने उदेश्यले असार २० गतेदेखि इन्धन वितरण ठप्प पार्ने घोषणा गरेका छन् । अत्यावश्यक वस्तुको आपूर्तीमा अवरोध गर्न नहुने कानून विपरित, बाग्मती अञ्चलमा पेट्रोलपम्प संचालन गर्ने व्यवसायीको आजको भेलाले यस्तो निर्णय गरेको हो ।

नेपाल आयल निगमबाट कम तेल पाइरहेको भन्दै उनीहरुले कम तेलको समस्या समाधान गर्न दबाब दिने उदेश्यले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताएका छन् । भेलाले २० असारबाट तीन दिनसम्म पेट्रोल नबाँड्ने निर्णय गरेको बाग्मती पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष अच्यतबहादुर खड्काले बताउनु भयो । उहाका अनुसार सो अवधिसम्म पनि माग सुनुवाई नभए २४ असारबाट डिजेल वितरण पनि ठप्प पारिनेछ । आफूहरुको लडाई तोकिएको परिमाणको इन्धन पाउनका लागि मात्रै भएकाले उपभोक्ताले पनि साथ दिनुपर्ने उहाँको तर्क छ ।

४ हजार लिटर तेलका लागि निगमलाई पैसा तिर्ने गरेको भएपनि प्रत्येक ४ हजार लिटरमा ७० देखी १ सय लिटरसम्म कम पाउँदै आएको पेट्रोलियम व्यवसायी उमेश बानियाँले गुनासो गर्नुभयो । उहाँले निगमको ज्याजती विरुद्ध आन्दोलन गर्नु परेको जिकिर गर्नुभयो । निगमको थानकोट डिपोबाट इन्धन बितरण हुने काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोटलगायतका जिल्लाका पम्पबाट इन्धन वितरण ठप्प पार्न लागिएको अध्यक्ष खड्काले जानकारी दिनु भएको छ । उक्त क्षेत्रमा करिब २ सय पम्पले इन्धन वितरण गरिरहेका छन् । आयल निगमले कम तेल दिदैं आएको भन्दै व्यवसायीले विगत २-३ बर्ष अघिबाट गुनासो गर्दै आएका थिए ।

यता, आयल निगमका निर्देशक दीपक बरालले भने भारतीय आयल कर्पोरेसन (आइओसी)को क्यालिब्रेसन मापदण्डका आधारमा तेल उपलब्ध गराइरहेकाले कम दिएको भन्न नमिल्ने बताउनु भएको छ । उहाँले नेपालको क्यालिब्रेसन सम्बन्धि मापदण्ड गुणस्तर विभागले उपलब्ध नगराएकाले थप अनुगमनका लागि असहज भएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया