बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ७ नम्बर प्रदेश (सुदूरपश्चिम)का जिल्लाहरुमा पनि तत्काल लोडसेडिङ अन्त्य गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गर्नु भएको छ ।

चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका दाहालले सुदूरपश्चिममा लोडसेडिङको समस्या देखेपछि काठमाडौं फर्किएलगत्तै शनिबार घिसिङलाई भेटेर यस्तो आग्रह गर्नु भएको हो ।  दाहाल प्रधानमन्त्री छँदा काठमाडौंसहित देशका अधिकांश भू-भाग लोडसेडिङमुक्त भएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्न ७ नम्बर प्रदेश पुगेका दाहाललाई सुदूरपश्चिमका जनताले लोडसेडिङबारे गुनासो गरेका थिए । जनताको गुनासो सुनेपछि दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्किएलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गर्नु भएको थियो ।

आज बिहान धनगढीबाट काठमाडौं आएका अध्यक्ष दाहालले घिसिङलाई तत्काल लाजिम्पाट बोलाएर त्यस्तो आग्रह गर्नु भएको हो । भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन लाइन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया