शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो । गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नं को मोटरसाइकल चालक लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो । छोरा सन्दिप घाइते भए ।

सँगै आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहयोगी चालक भारतको बेतियाका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भयो । चालक पर्सा लक्ष्मनुवा १८ का ३६ वर्षीय बनु पटेल घाइते बने । घटनामा रा १ ख ७७९ नम्बरको मिनि ट्रक, बा १६ च ३९०७ नम्बरको कार र ना ६ ख ६६६४ नम्बरको ट्रक परेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा मुग्लिन नारायणगढको–३४ किलोमिटर सडकमा जोखिम पहिचान गरेर आवश्यक सावधानी अपनाउन थालिएको उक्त सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल बताउनुहुन्छ ।

यो बीचमा दर्जनौं पटक पहिरो खस्यो । नियमितजसो ढुङ्गा झरिरहेको देखिने गरेकाले जोखिममा यात्रा गर्नु बाध्यता भएको चितवनको सौराहाका पर्यटन व्यवसायी प्रकाश भट्टराई बताउनुहुन्छ । यही असार ४ गते पनि उक्त सडकको कालीखोलामै पहिरो खसेर आठ घन्टा सवारी अवरुद्ध हुँदा गाडी खुलाउन दिनभर नै लाग्यो । यात्रुले पहिरो खस्ने त्रासमै दिन बिताए । त्यसको तेस्रो दिन असार ७ गते बिहान झरेको पहिरोले पनि यात्रुलाई दिनभर प्रभावित बनायो । उक्त पहिरो खस्दा पर्यटन व्यवसायी भट्टराई काठमाडौँबाट चितवन आउँदै हुनुहुन्थ्यो ।

‘मुग्लिन कटेपछि आङ सिरिङग हुन्छ,’ भट्टराईले भन्नुभयो, – ‘यसरी जीवनकै बाजी राखेर यात्रा कहिलेसम्म गर्ने ?’ काठमाडौंबाट हिँडेका सूर्य अधिकारी पनि त्यही पहिरोका कारण दिनभर सडक बस्नुप¥यो । मुख्यगरी चारकिलो र कालीखोलाको पहिरोले यात्रुलाई प्रभावित पार्दै आएको छ । जीवनकै बाजी थापेर हिँड्नुपर्ने अवस्था मुग्लिन सडकमा भएको अधिकारी बताउनुहुन्छ । घुमाउनेपछिको ठूलो दुर्घटना आजको हो । गएराति ८ बजेदेखि नै सडक गस्ती र सानातिनो पहिरो पन्छाएर मुग्लिनतर्फ फकिँदै गरेको प्रहरीको भ्यान र एउटा ट्रक राति १ बजे कालीखोलाको पहिरोले बगायो ।

दुई प्रहरीको ज्यान गयो भने अन्य दुई प्रहरी बेपत्ता भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्त पहिरोको जोखिमसँगै सडक विस्तारको क्रममा रहेकाले ग्राभेल सडकका कारण पनि यात्रुबाहक बस नसोचेको दुर्घटनामा पर्दै आएको बताउनुहुन्छ । अघिल्लो वर्ष रौतहटको एउटा बस दुर्घटना हुँदा २३ जना यात्रु घटनास्थलमै मृत्यु भएको र दुईवटा ट्रक समेत नदीमा खसेर बेपत्ता भएको सोही क्षेत्र रहेको उहाँको भनाइ छ ।

वर्षा सुरु भएकाले जोखिम बढ्दो

वर्षा सुरु हुन लागेकाले यात्रु डराई डराई यात्रा गर्न बाध्य छन् । कालीखोला सबैभन्दा ठूलो जोखिम क्षेत्र भए पनि यहाँका दर्जनौँ स्थान पहिरोको जोखिममा छन् । भित्तो काटिएकाले सुख्खा समयमा पनि पहिरो खस्छ । पानी परेपछि गलेर झन् जोखिम बढाउँछ । सडक आयोजनाका इन्जिनियर शिव खनाल अहिलेसम्म उक्त सडक करिब ५१ प्रतिशत मात्रै काम सम्पन्न भएको बताउनुहुन्छ । यसरी हेर्दा अन्तिम मिति पुसमा निर्माण सम्पन्न गर्न सकिँंदैन ।

यहाँको ३४ किलोमिटर सडकमा ६ वटा निर्माण कम्पनीले तीन खण्ड बनाएर काम गरिरहेको छ । गएको वैशाखबाटै सक्नुपर्ने काम आधा पनि नहुँदा आगामी पुससम्मलाई म्याद थपिए पनि सो समयसम्म सकिने अवस्था देखिँदैन । त्यसैले यात्रुले अर्को वर्ष पनि सास्ती पाउने देखिन्छ ।

नयाँ ठाउँमा खस्यो यसपटकको पहिरो

यसपटकको प्रहरी गाडी परेको पहिरो भने नयाँ ठाउँमा खसेको छ । यसअघि कहिल्यै नखसेको ठाउँ कालीखोला र चेपाङ डाँडाको बीचमा खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनाल बताउनुहुन्छ । बुधबार राति परेको भीषण वर्षाले गलाएकाले पहिरो खसेको उहाँ बताउनुहुन्छ । यो स्थिर बस्न नसक्ने माटो भएको क्षेत्र हो ।

गाडी र दुई प्रहरी गाडी हराएकाले माटोमा पुरिएको पनि हुनसक्ने आशङ्कामा सडकको पहिरोको माटोलाई गाडीमा लादेर अन्यत्रै फाल्नुपर्ने अवस्था छ । त्यसैले पहिरो पन्छाउन समय लाग्ने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त बताउनुहुन्छ । अर्को चार किलोमा पनि पहिरो खसेकाले अहिले पन्छाउने क्रम जारी छ ।

यसरी भएको थियो घटना

गएराति करिब ९ः ४५ बजेको समयमा इच्छाकामना गाउँपालिका– ६ स्थित चार किलो भन्ने स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङको नेतृत्वमा गएको टोलीले अवरुद्ध सडक एक तर्र्फी खुलाई मुग्लिन फर्कंदै थिए ।

राति १ बजेर ५ मिनेटको समयमा कालीखोला नजिकै माथिबाट एक्कासि पहिरो खसेर इलाका प्रहरी कार्यालय मुग्लिङको ना १ झ १३९० नं को प्रहरीसहितको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक बगाएर सडकबाट तल झारेको चितवनका प्रहरी उपरीक्षक दीपक थापा बताउनुहुन्छ । रातिदेखि नै खोजी गर्दा आज बिहान धादिङ खनियावास गाउँपालिका– ४ बस्ने २९ वर्षका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया– ६ बस्ने वर्ष ३० का प्रहरी जवान दीपककुमार मास्केको शव नदी किनारमा पुरिएको अवस्थामा फेला परेको छ ।

जिल्ला गोर्खा मकैसिंह–१ बस्ने वर्ष ३१ का प्रहरी जवान लीलबहादुर चेपाङ र तनहु रुपाकोट– ३ बस्ने वर्ष २१ को प्रहरीजवान सन्दिप कार्की बेपत्ता छन् । ना ५ ख ७८२७ नं को ट्रकसमेत त्रिशूली नदीको किनारमा पूर्णरुपमा क्षति भएको अवस्थामा रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ बताउनुहुन्छ ।

उक्त ट्रकको चालक र सहयोगी चालकलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको र उद्धार कार्य जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया