बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई आर्थिक रुपमा समृद्ध नबनाएसम्म भारतले गर्ने असमान व्यवहारलाई टक्कर दिन नसकिने बताउनु भएको छ ।

झापाको दमकमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै डा. भट्टराईले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने मुद्दा आफूहरुसंग मात्र भएको दाबी गर्नुभयो । उहाँले आर्थिक रुपमा बलियो भएपछि तेस्रो मुलुकहरुसंग मिलेर भारतले गर्दै आएको असमान व्यवहारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आर्थिक समृद्धिको पहिलो कदम भ्रष्टाचारलाई निर्मुल पार्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको कूल बजेटको ९० प्रतिशत रकम प्रमुख तीन पार्टीले विभिन्न बहानामा भ्रष्टाचार गर्दै आएको आरोप लगाउनुभयो ।

असार १४ को स्थानीय तहको चुनावबाट विकास र समृद्धिको मुद्दालाई संस्थागत गर्नुपर्ने उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया