शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

कञ्चनपुर – कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो ।
सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताउनुभयो । उहाँका अनुसार १३२ मतदानस्थलमध्ये ६६ लाई अतिसंवेदनशील, २६ लाई संवेदनशील र ४० लाई सामान्यको सूचीमा राखिएको छ ।
“भारतसँग सीमा जोडिएका महाकाली नगरपालिका, बेलडाँडी गाउँपालिका, भीमदत्तनगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ” – उहाँले भन्नुभयो । आपराधिक गतविधि हुन सक्ने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन् । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । जस्मा मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार मतदानस्थलको सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी तैनाथ गरिने र त्यसका लागि एक हजार बढी म्यादी प्रहरी रहने छन् । थप सुरक्षाकर्मीको टोलीलाई मतदान केन्द्र्र र नेपाल–भारत सीमा क्षेत्रमा गस्तीका लागि प्रभावकारी रुपमा परिचालन गरिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया