बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

पूर्व राजदूत माथेमा, पत्रकारद्वय मिश्र र बानियाँ कार्यक्रमको प्रमुख आकर्षण 

टोकियो – टोकियोमा ’समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका’ विषयक बृहत अन्तर्क्रिया कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा जापानका लागि पूर्व नेपाली राजदूत समेत रहीसक्नुभएका शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपती प्रा. डा. केदारभक्त माथेमा, बिबिसी नेपाली सेवाका पूर्व प्रमुख समेत रहनुभएका चर्चित पत्रकार रवीन्द्र मिश्र र चर्चित टेलिभिजन पत्रकार प्रेम बानियाँ प्रमुख वक्ता रहनुहुने बताईएको छ ।

समृद्ध मुलुक निर्माण गर्ने अभियानको मुल प्रवाहमा प्रवासमा रहेका नेपालीहरुलाई के कसरी सहभागी गराउन सकिन्छ र उनीहरुको भूमिका के हुन सक्दछ भन्ने अत्यन्त महत्वपूर्ण बिषयमा अतिथि वक्ताहरुको गहन विचार सहितको सम्बोधन रहने आयोजक संस्था दिगो बिकासका लागि पारस्परिक मैत्रि समुह (INFSD) जापानले जनाएको छ ।

कार्यक्रम आउँदो जुलाई महिनाको २ तारिख आइतवार टोकियो नाकानोस्थित जिरो हलमा हुने भएको हो ।

अबको राष्ट्रिय एजेण्डा बनेको मुलुकको बिकास र समृद्धिसंग सिधा सरोकार राख्ने गहनतम बिषयमा विद्वत ब्यक्तित्वहरुसंगको बहसले जापानबासी नेपालीहरुमा एक प्रकारको बौद्धिक तरंग ल्याउने अपेक्षा गरिएको कार्यक्रमका संयोजक महेशकुमार श्रेष्ठले समुद्रपारिलाई बताउनुभयो ।
संयोजक श्रेष्ठले समुदायका लागि समय समयमा यसप्रकारको बौद्धिक बहसको आवश्यक पर्ने भएकोले उक्त कार्यक्रममा नेपालकै एक वरिष्ठ शिक्षाविद माथेमा, कुशल प्रस्तोताको परिचय बनाएका चर्चित पत्रकारद्वय मिश्र र बानियाँलाई आमन्त्रण गरिएको बताउनुभयो ।

पछिल्लो समय बिबिसी छोडेर साझा पार्टी मार्फत राजनीतिमा होमिनुभएका पत्रकार मिश्रको जापानमा हुने कार्यक्रम भने बिशुध्द गैरराजनीतिक हुने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रम संभवत जापानमा हालसम्मकै नितान्त फरक र प्रेरणादायी हुने आयोजकको दावी छ । कार्यक्रमलाई अधिकतम फलदायी, पृथक र नमुनायोग्य बनाउन बिभिन्न उपसमितिहरु मार्फत कार्यविभाजन गरी तैयारीलाई तिब्र पारिएको उपसंयोजक दुर्गाबहादुर खत्रीले बताउनुभयो ।
आयोजक स्रोतका अनुसार बिदेशमा रहेका विद्वत वर्गले हासिल गरेका ज्ञान, सीप, दक्षता र शिक्षालाई राज्यको नीति निर्माण लगायत मुलुकको शैक्षिक स्तरोन्नती एवं आर्थिक बिकासमा के कसरी जोड्न सकिन्छ भन्ने बिषयमा प्रा. डा. माथेमाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने बिदेशमा रहेका नेपालीहरुले नेपाललाई समृद्ध बनाउन के कसरी योगदान पुर्‍याउन सक्छन भन्ने बिषयमा पत्रकार मिश्रले आफ्नो धारणा राख्नुहुने छ । यसैगरी पत्रकार बानियाँले ’युवा पुस्तामा देखिएको बैदेशिक मोह र समृद्ध मुलुक निर्माणमा युवा दायित्व’ बिषयमा बोल्नुहुने कार्यक्रम छ । अतिथि वक्ताहरुसंग सहभागीहरुले बिषयकेन्द्रित अन्तर्क्रिया पनि गर्ने छन ।
यसप्रकारको कार्यक्रम डायस्पोरिक नेपाली समुदायमा विरलै हुने भएकोले उक्त कार्यक्रम नछुटाउन जापानबासी नेपालीहरुमा आयोजक संस्थाले अपील गरेको छ । कार्यक्रम साँझ ६ बजेदेखि हुने बताईएको छ ।***

तपाईको प्रतिक्रिया