बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ ।

तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ । दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ ।

अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । शरीरमा जडान गरिएको ‘ईईजी’नामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट (बिटा ब्रेन वेभ) विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ ।

पाण्डेका अनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच÷पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् । बिरामीले आफ्नो आवश्यकतामा सोचाइ बढाउँछन् र त्यो आवश्यकता वा चाहना छनोट भएर मोबाइलमा म्यासेज जान्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले उक्त प्रविधि विकास र मेसिन निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । अहिले यो प्रविधि नास्टमै राखिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो प्रविधि बिरामीमा प्रयोग गर्न ‘इथिकल एप्रुवल’ दिएको छ ।

 

तपाईको प्रतिक्रिया