चुनाव प्रचारमा संयमता अपनाउन दलहरुलाई आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत उम्मेदवारी दर्ताका क्रममा देशका विभिन्न स्थानमा भएका घटनाप्रति गम्भिर चासो प्रकट गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा दलहरुलाई संयमता अपनाउन आग्रह गरेको छ ।

आयोगको आज बसेको बैठकले बाजुराको छेडेदह तथा कपिलबस्तुको वाडगंगामा उम्मेदवारी दर्ताका क्रममा भएका झडपका घटनाप्रति आयोगले दुख प्रकट गर्दै त्यस्ता घटना दोहोरिन नदिन सरोकारवालको ध्यानाकर्षण गराएको हो । उम्मेदवारी दर्ता गर्ने दिन बाजुराको छेडेदह गाउँपालिका वडा नं- ५ डोगडीमा मनोनयन पत्र दर्ता गर्न जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा ५० बर्षिय हंसबहादुर राउतको मृत्यु भएको थियो । घटनामा दुवै पक्षका केही कार्यकर्ता घाइते समेत भएका थिए ।

यसैगरी, उम्मेदवारी दर्ताकै क्रममा असार ४ गते कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिका वडा नं= ४ भित्री हुलाकी सडक खण्डमा बम विष्फोट भएको घटनाप्रति पनि आयोगले चासो प्रकट गरेको छ । बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए ।

संयमता अपनाउन आग्रह
साथै निर्वाचन आयोगको सोमबारको बैठकले दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रमहरुमा संयमता अपनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । बैठकपछि आयोगका प्रवक्ता सुर्यप्रसाल शर्माले संयमता अपनाउदै सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजका व्यक्तित्वहरुसँग अपिल गरेको बताउनुभयो ।

प्रभावकारी सुरक्षा मिलाऊ
साथै असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिन सरकारलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित