जापानमा शरणार्थी अस्विकृत बिदेशीलाई क्यानाडामा स्थायी भिसा

टोकियो– जापान सरकारले शरणार्थीको मान्यता दिन अस्विकार गरेको एक पाकिस्तानी नागरिकलाई क्यानाडाले स्थायी भिसा दिएको खबर च्युनिची सिन्बुनले प्रकाशन गरेको छ । यसरी जापानको भिसा नै नभएको बिदेशीलाई तेश्रो राष्ट्रले स्थायी भिसाको लागि अनुमति दिनु अनौठो भएको समाचारमा उल्लेख छ । यो बिषयलाई जापानका शरणार्थी सम्बन्धी काम गरिराखेका वकिलहरुले क्यानाडा सरकारले उक्त ब्यक्तिलाई वास्तबिक शरणार्थीको रुपमा स्विकारी मानबियता देखाएको टिप्पणी गर्दै शरणार्थी प्रतिको जापान सरकारको कडा नितिको आलोचना पनि गरेका छन् ।

५५ बर्षिय उक्त पाकिस्तानी नागरिक आफ्नो देशमा अल्पसंख्यक क्रिष्चियन भएको र बहुसंख्यक इस्लामिकहरुबाट सुरक्षाको चुनौती भएको कारण देखाई सन १९९३ मा जापान आएका थिए । अर्कोतर्फ उनकी आमा भने त्यतिबेलै क्यानाडा गई शरणार्थीको रुपमा मान्यता लिएर बसेकी थिइन् । उनले पनि क्यानाडामा आफ़्नो आमासंगै बस्नको लागि ईच्छा ब्यक्त गर्दा ओभरस्टे भएको भन्दै सन् २००४ मा इमिग्रेसनले गिरफ्तार गरी थुनामा राखेको थियो । त्यस पश्चात पनि पटकपटक शरणार्थीको लागि आवेदन दिंदा जापान इमिग्रेशनद्वारा अस्विकृत गरिएको थियो ।

अन्तमा, क्यानाडामै रहेको उनकी आमाका वकिलहरुले त्यहांको सरकारसंग उनलाई पनि स्थायी भिसाको लागि पहल गर्दा क्यानाडा सरकारले स्विकृत गरेको हो । उनको जापानको भिसा नभएको कारण जबरजस्ती देश निकालाको प्रकृयाबाट गत मार्च महिनामा क्यानाडा तर्फ पठाईएको समाचारमा उल्लेख छ । उक्त पाकिस्तानी नागरिकको पक्षमा काम गरिरहेका जापानी वकिलका अनुसार यसरी जापान बाहेकका मुलुकमा सिधै स्थायी भिसा लिएर जानेहरु गत १४ बर्षमा ३ जना रहेको तर उनीहरुको जापानको भिसा पनि भएको बताएका छन् । उनका अनुसार यसरी जापानको भिसानै नभएको ब्यक्तिलाई अर्को मुलुकले सिधै स्थायी भिसा दिएको अहिलसम्म नसुनेको बताएका छन् । यसरी हेर्दा जापान र क्यानाडा अन्तरराष्ट्रिय रुपमा शरणार्थी सम्बन्धी एउटै सन्धीमा हस्ताक्षर गरेको भएपनि जापानको सो सम्बन्धी निति हास्यास्पद भएको ति वकिलले बताए ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित