प्रधानमन्त्रीको गृह जिल्लामा कांग्रेसबाटै २० जना बागी उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसका सभापति समेत रहुनरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा उहाँकै पार्टीबाट २० जनाले बागी उम्मेदवारी दिएका छन् । पार्टीभित्र उम्मेदवार छनौटमा चरम असन्तुष्टि देखिएसँगै निर्वाचनमा भाग लिन कांग्रेसकै २० नेताले बागी उम्मेदवारी दिएका हुन् ।

पार्टी नेतृत्वले टिकट वितरणमा अन्याय गरेको भन्दै स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षसहित सदस्य पदमा समेत बागी उम्मेदवारी परेको जनाइएको छ ।

यी हुन् बागी उम्मेदवार
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त मनोनयन अनुसार दुईवटै नगरपालिका र दुई वटा गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी भन्दै मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेस डडेल्धुराका क्रियाशील सदस्य रहेका नरभान पार्कीले अमरगढी नगरपालिकामा नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराउनु भएको छ ।

नगरपालिकाकै वडा नं. १ बाट पुष्पराज जोशी, वडा नं. ३ बाट वीरबहादुर ऐर, वडा नं. ४ बाट तेज बहादुर बोहरा र गगन सिंह बिष्ट, वडा नं. ६ बाट बलराम भट्ट र वडा नं. ९ बाट नर बहादुर पालले वडा अध्यक्षमा उम्मेदवारी दिनु भएको हो । यस्तै वडा नं. ७ बाट खुला सदस्यमा गणेश सिंह साँकीले समेत उम्मेदवारी दिनु भएको छ । भित्रिमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा त्रिभुवन विश्वविद्यालयका नेविसंघ पूर्व सदस्य विजय कुमार बोहराले नगर प्रमुखमा उम्मेदवारी दिनुभएको छ ।

यस्तै उपप्रमुखमा लाल बहादुर दमाईको उमेदवारी रहेको छ । साथै नगरपालिकाकै वडा नं.१० को अध्यक्षमा नेपाली कांग्रेसका मिन बहादुर बोहराले स्वतन्त्र उमेदवारी दिनुभएको छ ।  अजयमेरु गाउँपालिकाबाट ७ जनाले बागी उम्मेदवारी दिएका छन् । गाउँपालिका अध्यक्षका लागि त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियु सभापति लोकराज भट्ट र नेपाली कांग्रेस जिल्ला समिति सदस्य लोकराज भट्टले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

यस्तै गाउँपालिका उपाध्यक्षमा कृष्ण बहादुर बिष्ट र शिवराज शाहले उम्मेदवारी दर्ता गराएको जनाइएको छ । यस्तै वडा नं. १ बाट अध्यक्ष पदमा भुवन सिंह ताम्राकार र वडा नं. ५ बाट देवराज जोशीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी भागेश्वर गाउँपालिका ५ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्य गोपाल नाथले वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ भने नवदुर्गा गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका क्रियाशील सदस्य टेक बहादुर साउदले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।

जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेका छन् । ती मध्ये तीन वटा गाउँपालिका बाहेक सबैमा कांग्रेसबाट बागी उम्मेदवार उठेका हुन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित