लण्डन आगलागीः ५८ जना अझै बेपत्ता, मृत्यु भएको अनुमान–प्रहरी

लण्डन – लण्डनको ग्रेनफेल टावरमा भएको आगलागीमा परेका ५८ जना अझै हराइरहेको लण्डन प्रहरीले जनाएको छ । हराएका व्यक्ति जीवित भेटिने सम्भावना नरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने लण्डन प्रहरीका कमाण्डार स्टुअर्ट कण्डीले बताउनुभयो ।

घटनामा ३० जनाको ज्यान गएको यसअघि नै पुष्टि भएको छ । ज्यान गुमाउनेको संख्या ८० भन्दा बढी हुन सक्ने अनुमान प्रहरीको छ । आगलागीका कारण क्षतिग्रस्त भएको ग्रेनफेल टावरमा खोजी तथा उद्धारको काम भइरहेको र अझै एक हप्तासम्म लाग्ने उहाँले बताउनुभयो ।

यसैबिच प्रधानमन्त्री टिरेजा मेले आगलागीको सुरुवाति चरणमा पीडितलाई सरकारको तर्फबाट पर्याप्त सहयोग गर्न नसकिएको स्वीकार गर्नुभएको छ । स्वयम् सेवकसँगको भेटवार्तापछि प्रधानमन्त्री मे ले वक्तव्य जारी गरेर सुरुवाति चरणमा सरकारको तर्फबाट केही कमजोरी भएको स्वीकार गर्नुभएको हो ।

आगालागीका कारण ग्रेनफेल टावरमा बस्दै आएका मानिस घरबार बिहीन भएका छन् । एक सय २७ फ्ल्याट रहेको २४ तले टावरमा आगलागी भएको हो । घटनाको विषयमा सार्वजनिक छानबिन हुँदैछ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित