शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ –  विभिन्न खाले सङ्क्रमण र अध्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ । वीर अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा लालकिशोर यादवले नाकबाट रगत बग्ने विभिन्न कारण भए पनि सङ्क्रमण नै मुख्य कारण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाक कोट्याउने बानी, चोटपटक, ठोक्किएर, पिनास, नाकको भित्रको मसिनो पर्दा (रक्तनली) फुटेर रगत बग्ने सम्भावना बढी हुन्छ, ” त्यस्तै रगत जमाउने तत्वमा कमी आउँदा, रगत पातलो बनाउने औषधिको सेवनका कारणले पनि रगत बग्ने गर्छ– डा यादवले भन्नुभयो ।

ओम अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा अनिल झाले पछिल्लो समय अत्यधिक धुलोका कारणले पनि नाकलाई सुक्खा बनाउँदा नाकको भित्री भागमा रगतको सम्पे्रषण हुने नली फुट्न सक्ने बताउनुभयो ।

उहाँले कसैलाई रगत बगेर केही समयमा रोकिन सक्छ तर लामो समयसम्म रगत बगिरहेमा चिकित्सकसँग सल्लाह लिनुपर्छ, नत्र समस्या बढ्न सक्ने बताउँदै चिकित्सककहाँ जान समय लाग्ने भए र रगत बग्न रोकिएन भने घरमै नाकलाई थिचेर मुखबाट स्वास फेर्न तथा बरफ नाक माथि राख्दा केही हदसम्म लाभ हुन्छ भन्नुभयो ।

चिकित्सककाअनुसार वृद्धवृद्धालाई विभिन्न खाले समस्या देखिने र बच्चा पनि बढी नाक कोट्याउने, घाममा बढी खेल्ने भएकाले यी उमेरका व्यक्ति बढी प्रभावित हुने गर्छन् । धेरै रगत बग्दा रक्तचाप कम हुने, चक्कर लाग्ने, नाकमा अन्य समस्या देखापर्ने र अत्यधिक रगत बग्दा ज्यानलाई जोखिम हुने भएकाले समयमा उपचार गराउनुपर्छ ।

तपाईको प्रतिक्रिया