शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – छिन्नलता गीत पुरस्कार गुठीले विसं २०७३ को छिन्नलता गीत पुरस्कार गीत रचना, गायन, सङ्गीत विधामा चार स्रष्टा र छिन्नलता विशेष सम्मान दुई स्रष्टालाई समर्पित गर्ने भएको छ ।

गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा आज बसेको बैठकले छिन्नलता गीत पुरस्कार गीत रचनामा धनेन्द्र विमल, गायनमा शिशिर योगी र सङ्गीतमा टीका भण्डारी तथा युवा नवप्रतिभामा मीना पोख्रेल निरौलालाई अर्पण गर्ने निर्णय गरेको हो ।

ती पुरस्कारको राशि जनही ५० हजार र सम्मानपत्र रहेको छ भने नवप्रतिभा पुरस्कारको राशि ३५ हजारसहित सम्मानपत्र रहेको छ । यसैगरी, छिन्नलता विशेष सम्मान गायनमा माधवलाल श्रेष्ठ र सङ्गीतमा मणिकमल क्षेत्रीलाई अर्पण गर्ने निर्णय भएको गुठीका सहकोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । ती सम्मानमा जनही रु ५० हजार नगद राशि रहेको छ ।

विसं २०३९ मा स्थापित सो गुठीले गीत, गायन, सङ्गीत विधामा उत्कृष्ट योगदान पुर्याएबापत् हरेक वर्ष छिन्नलता पुरस्कार र सम्मान अर्पण गर्दै आएको हो ।  गुठीका संस्थापक एवम् गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मतिथि विसं २०७४ असार २० गते पुरस्कार र सम्मान वितरण गरिने सहकोषाध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया