बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टेक्सास – चर्चित टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक ’द होप’ को आइतबार अमेरिकाको टेक्सास, अश्टिनमा लोकार्पण भएको छ ।

प्रमुख अतिथि, समाजसेवी एवं हेमसरिता पाठक फाउण्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको लोकार्पण गर्नुभएको थियो । ’द होप नेपाली समाजमा आशाको दियो बनेर आएको छ’ – पाठकले भन्नुभयो, – यो एक पत्रकारले समाजका विभिन्न क्षेत्रका व्यक्ति र बिषयको गहिरो अध्ययन पश्चात लेखिएको कृति हो ।’ पाठकले पत्रकार मरहठ्ठालाई गैर आवासीय नेपालीको बारेमा सबैभन्दा जानकार पत्रकारको संज्ञा पनि दिनुभयो ।

ग्रेटर अश्टिन नेपाली समाज, अश्टिनको आयोजनामा भएको कार्यक्रममा फिल्मकर्मी एवं बरिष्ठ टेलिभिजन प्रस्तोता नारायण पुरीले पुस्तकको समीक्षा गर्दै ’द होप’ पत्रकारितामा नवप्रवेशीहरुको लागि मार्गदर्शक भएको बताउनुभयो । ’किरण मरहठ्ठा सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा खरो उत्रिएको पत्रकार हो, नेपालको टेलिभिजन अन्तर्वार्ता शैली निर्माणमा उनको विशेष योगदान छ,’ – पुरीले भन्नुभयो । टेक्सासका विभिन्न क्षेत्रका अगुवा व्यक्तित्वहरु उपस्थित कार्यक्रममा नारी साप्ताहिकका सहसम्पादक झरना नहर्कीले पत्रकार मरहठ्ठाको कलम नेपाली समाजको ऐना हो भन्दै द होप पत्रकारिता जगतमा एक उत्कृष्ट कृति हो भन्नुभयो । पत्रकार रविन पियाले ’द होप’ लाई खारिएको पत्रकारको परिपक्व कर्म भनेर टिप्पणी गर्नुभएको थियो भने विश्वसंदेश साप्ताहिकका सम्पादक सुरज भण्डारीले लेखक मरहठ्ठाको व्यक्तित्व र पत्रकारिता यात्राको समीक्षा गर्नुभएको थियो । ग्रेटर अश्टिन नेपाली समाजका अध्यक्ष देवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ लेखक मोहन सिटैाला र राजेश्वर निरौलाले पनि मन्तव्य दिनुभएको थियो भने लेखक मरहठ्ठाले पुस्तकमा समेटिएका बिषयवस्तुको बारेमा जानकारी दिनुभएको थियो ।

नेपालको आर्थिक, सामाजिक, राजनीतिक तथा आध्यात्मिक क्षेत्रका करिब २५ जना अगुवाहरुको विचार समेटिएको ’द होप’ मा तात्कालिक परिस्थितिको चित्रणका साथै नेपालको अर्थराजनीतिक पाटोको विश्लेषण गरिएको छ । २ सय २० पेजको सो पुस्तक डिकुरा पब्लिकेशनले बजारमा ल्याएको हो ।***

तपाईको प्रतिक्रिया