जापानका रेष्टुरेन्ट ब्यवसायमा बिदेशी कर्मचारीको उपस्थिति बढ्दो

नयाँलाई तालिम दिने पनि बिदेशी नै

टोकियो– जापानको बिभिन्न क्षेत्रमा जस्तै रेष्टुरेन्ट ब्यवसायमा पनि बढ्दै गरेको कर्मचारी आभावलाई पुर्ति गर्न अब बिदेशी कर्मचारीहरको भर्नालाई बढाउने नीति लिईएको एनएचके टेलिभिजनले जनाएको छ । सुरुमा पार्टटाइम कामदारको रुपमा बिदेशी बिद्यार्थीहरुलाई लिने र पछि तिनै बिद्यार्थीहरुलाई स्थायी कर्मचारीको रुपमा भर्ना गर्ने क्रम बढेको हो । यसै क्रममा जापानको ठूलो इजाकाया रेष्टुरेन्ट वातामीले यहि अप्रिलेदेखि बिदेशी पार्टटाइम कामदारहरुको लागि तालिमको ब्यवस्था पनि गरेको छ ।

बिदेशी कर्मचारीले जापानी तरिका अनुसार ग्राहकलाई सेवा दिन सुरुमा केहि अप्ठ्याराहरु आएकै कारण छोटै समयमा काम छोड्नेहरुको संख्या उलेख्य रहेको छ । पुरानो अनुभबी बिदेशी कर्मचारी मार्फत नै नयां आउनेलाई तालिमको ब्यवस्था गरी उनीहरुलाई सकेसम्म छिटो काममा बानी पार्नको लागि वातामीले यस्तो ब्यवस्था गरेको हो । यस्ता ठूला रेष्टुरेन्टहरुमा तालिम दिने नेपालीहरु पनि भेटिने गरेका छन्। त्यसमध्येकै एक वातामीका स्थायी कर्मचारी तथा तालिम संयोजक रोहित श्रेष्ठले एनएचके टिभीसामु आफु पनि भर्खर जापान आएर पार्टटाइम काम गर्ने बेलामा यहांको समयको पालना गर्ने कुरामा बानी पर्न गाह्रो भएको बताए । आफुले अनुभब गरेका कुराहरुलाई समेटेर नयां आउनेलाई तालिम दिंदै जाने पनि उनले जानकारी दिए ।

त्यसैगरी, अर्को रेष्टुरेन्ट नेगिसी फुड सर्भिसमा पनि भियतनामी पार्टटाइम कामदारहरुको संख्या यस बर्षमात्रै १०० जना भन्दा बढि बृद्धि भएकोले आगामी शरद ऋतुदेखि तालिमको म्यानुअल तथा कम्पनीका कागजातहरु चाइनिज र भियतनामी भाषामा बनाउन लागिएको समाचारमा उल्लेख छ । यसरी कम्पनीको म्यानुअल तथा कागजातहरु बिदेशी भाषामा बनाउंदा बिदेशी कर्मचारीलाई कम्पनीको बारेमा बुझ्न सजीलो हुने र तुलनात्मक रुपमा लामो समय काम गर्न मन लाग्ने बिश्लेषण छ । यसरी नै पछिल्ला दिनहरुमा जापानको बिभिन्न ठूला रेष्टुरेन्टहरुमा पनि बिदेशीहरुको संख्या बढाउंदै लगिएको र कतिपय स्थानहरुमा नेपाली भाषामै पनि म्यानुअलहरु बनाएर लागु गरिएको पनि पाइन्छ । यसरी हेर्दा नेपाली बिद्यार्थीहरुको लागि पनि आगामी दिनमा रेष्टुरेन्ट ब्यवसायमा रोजगारको सम्भावना प्रशस्त रहेको अनुमान गर्न सकिन्छ ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित