शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

चितवन – चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले धर्ना दिएको छ ।

माओवादी केन्द्रका मतगणना प्रतिनिधिले आइतबार राति मतपत्र च्यातेपछि रोकिएको मतगणना फेरि सुरु गर्न माग गर्दै एमाले चितवनले मतगणनास्थल भरतपुरको कवर्डहल बाहिर मंगलबार बिहानदेखि धर्ना सुरु गरेको हो ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयर उम्मेद्वार देवी ज्ञवाली, उपमेयर उम्मेद्वार दिव्या शर्माको नेतृत्वमा नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै बिहान नारायणगढको पुलचोकबाट मतगणनास्थलसम्म एमालेले विरोध र्‍याली गरेको थियो ।

धर्ना सुरु हुनुअघि भएको सभामा एमाले चितवनका अध्यक्ष पोखरेलले मतगणना तत्काल सुरु गर्नु पर्ने र कसैले फेरि मतदान गर्ने सपना देखेको भए त्यो दिवा सपना मात्रै हुने बताउनुभयो । लोकतन्त्रको रक्षाका लागि नागरिकको मतमा खेलवाड गर्ने अधिकार कसैसँग नरहेको उहाँले बताउनुभयो ।

आफै मतपत्र च्यात्ने अनि फेरि मतदानको माग गर्नु निरंकुश शैली रहेको उहाँले भनाई छ । धर्नामा बसेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्न महासचिव ईश्वर पोखरेल दिउँसो चितवन आउने कार्यक्रम छ । माओवादी र कांग्रेसले फेरि मतदानको माग गर्दै आएको छ ।

आइतबार राति वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादीका एजेन्टले मतपत्र च्यातेपछि मतगणना रोकिएको हो । वडा नम्बर २१ को मतगणना सकिएपछि १९ र २० को गरेर ६ हजार १ सय ६२ मत गन्न बाँकी थयो ।

त्यसबेला एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवाली माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा ७ सय ८४ मतले अघि हुनुहुन्थ्यो । त्यसपछि वडा नम्बर १९ को मत गन्न सुरु गरिएको थियो ।

वडा नम्बर १९ को २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गनेर मतपरिणाम अपडेट गर्दा ज्ञवालीको ४१ हजार ६ सय ४१ र दाहालको ४० हजार ९ सय ८ मत आएको थियो ।

तपाईको प्रतिक्रिया