बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौ  – एनसेलले आफ्ना ग्राहकका लागि ‘योण्डर म्युजिक एप’ ल्याएको छ । योण्डर म्युजिक एक डिजिटल संगीत प्रदायक सेवा हो जसमार्फत यसका प्रयोगकर्ताले गीतहरु बजाउन, डाउनलोड गर्न तथा सेयर गर्न सक्छन् ।

एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङंकसँग सहकार्य गर्दै ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो । योण्डर म्युजिक एप गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले शुक्रबारबाट एप डाउनलोड गरी गीत सुन्न सक्नेछन् ।

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्ने एनसेलले जनाएको छ ।

एपअन्तर्गत ग्राहकले विनाकुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउने एनसेलले जनाएको छ । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्ने एनसेलले विज्ञप्तीमार्फत जनाएको छ ।

सुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भए पनि सार्वजनिक भएको एक महिना पछि यो एपएनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ । यसमा ग्राहकले आफूलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् ।

यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायककम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदान गर्नेछ । नेपाली गीत–संगीत क्षेत्रको प्रवर्धन तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप एनसेलले पनि पिआरबिटी सेवाअन्तर्गत रोयल्टी प्रदान गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया