शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजय सुरुआत गरेको हो । जिसँगै पुलिसले दुई अङ्क जोडेको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको पुलिसले सुदूरपश्चिमाञ्चलले दिएको १७१ रनको लक्ष्यलाई ११५ बल बाँकी छदै पूरा गर्यो । पुलिसले २४ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । पुलिसको जितमा अमित श्रेष्ठले सर्वाधिक ७५ रनको योगदान दिए । ६३ बल खेल्दै उनले तीन छक्का र आठ चौकाको मद्धतमा ७५ रनको स्कोर बनाएका हुन् । त्यसैगरी दीलिप नाथले ४० तथा दीपेन्द्रसिहं ऐरीले २७ रन जोडे ।

सुदूरपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुशील कँडेल एक्लौले पाँच विकेट लिए भने ललित भण्डारीले तीन तथा अरिफ शेखले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४८ दशमलव चार ओभरमा अल आउट हुँदै १७० रनको योगफल बनाएको थियो । उसका लागि ज्ञानेन्द्र कुँवरले ४९, भीम सार्कीले २८, सन्तोष भट्टले २५ तथा रोशन नेपालीले २१ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।

तपाईको प्रतिक्रिया