बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो–’ओशाका कल्चर एक्सचेन्ज सेन्टर’को आयोजनामा ओशाका वरपर बसोबास गरिरहेका विदेशीहरुलाई लक्षित गरी एकदिने ‘इन्फरमेशन सर्भिस कार्यक्रम’ हुने भएको छ । अंग्रेजी, चीनियाँ, कोरियन लगायत १० देशका भाषामा निःशुल्क परामर्श दिने उक्त कार्यक्रममा नेपालीहरुको लागि नेपाली भाषामा पनि सेवा दिने कार्यक्रम रहेको छ ।
आगामी जुलाई महिनाको ९ तारिक विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म विविध समस्या भएकाहरुले फोन तथा प्रत्यक्ष उपस्थित भएर आफूलाई परेको समस्याहरुको बारेमा निःशुल्क परामर्श लिन सक्नेछन ।
विशेष गरी जापानमा बसोबास गर्ने क्रममा आई परेका कानून, मानव अधिकार, अध्यागमन, अध्ययन, श्रम तथा व्यवसाय, विमा तथा पेन्सन, स्वास्थ्य तथा औषधिउपचार लगायतका दैनिक जीवनमा आईपर्ने समस्याहरुको बारेमा निःशुल्क परामर्श लिन सकिनेछ । उक्त दिन सम्बन्धित विषयका ज्ञाताहरुद्वारा समस्या समाधानको लागि राय सुझाव दिईने आयोजकले बताएको छ ।
हालैका दिनमा उक्त क्षेत्रमा नेपालीहरुको संख्या बढदै गईरहेको र आगामी दिनमा नेपाली भाषामा निःशुल्क परामर्श लिन सकिने सेवाको लागि पनि यस कार्यक्रमले सहयोग पुग्ने एक्सचेन्ज सेन्टरकी स्युकोउ केचुले समुद्रपारिलाई बताउनुभयो ।
उहाँले ओशाका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुमा यस अवसरको फाइदा लिन पनि अनुरोध गर्नुभयो । ***

तपाईको प्रतिक्रिया