मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – समयमै कार्यालय आउने, मुद्दा सुनुवाइ गर्ने र समयमै घर फर्कने । केहीबेर परिवारसँग समय बिताउने र लेखपढ गरेर समयमै सुत्ने, अनि समयमै उठ्ने । घरमै पकाएको मात्र खाने । आहारविहारको अनुशासन कुनै हालतमा नतोड्ने ।

न्यायाधीश दीपेन्द्र अधिकारीको यो दैनिकी अहिले खलबलिएको छ । उहाँको दिनचर्या र जीवनशैलीलाई खलबल्याउने काम वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनले गरेको हो । सात दिन सात रात भयो, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभाहलभित्र कैद छ उहाँको दैनिकी । कम्पाउन्डबाहिर निस्कनसम्म पाउनुभएको छैन् ।

काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत दीपेन्द्रकै नेतृत्वमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । मतगणनाले भने उहाँलाई सभागृहको ‘बन्दी’ जस्तै बनाइदिएको छ ।

३१ गते बेलुकी मतपत्रका बाकस राष्ट्रिय सभागृह ल्याइएदेखि नै न्यायाधीश अधिकारीको ध्यान छिटोभन्दा छिटो मतगणना सक्ने भन्नेमा छ । काठमाडौं महानगरको मतगणना कछुवा गतिको भएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

गजब कुरा त के छ भने मुख्य निर्वाचन अधिकृत अधिकारीको कक्षमा न त अहिलेसम्म पत्रपत्रिका नै पुगेको छ, न उहाँलाई टेलिभिजन हेर्ने फुर्सद छ । बाहिरबाट भेट्न जाने र पत्रकारले सोध्ने प्रश्नका आधारमा मुलुकमा के भइरहेको छ भन्नेसम्म थाहा छ उहाँलाई । किनकि, उहाँ मतगणनाको जिम्मेवारी छाडेर एकछिन पनि यताउता लाग्न पाउनुहुन्न । उहाँको अनुपस्थितिमा केही समस्या आए त्यसको जिम्मेवारी अरू कसैले लिनेछैन ।

सुरक्षाकर्मीलाई छिचोल्दै सोमबार करिब १२ बजे सभागृहको भुइँतलाको कोठामा पुग्दा अधिकारी भर्खर खाना खाएर बस्नुभएको थियो । कोठामा एउटा सोफा र सानो टेबल थियो । सोफा देखाउँदै अधिकारीले भन्नुभयो, ‘समय मिले केहीबेर यही सोफामा ढल्किने गरेको छु ।’ उहाँ घर नगएको सात दिन नाघिसक्यो । ‘अझै कति दिन लाग्ने हो ?’ उहाँले भन्नुभयो ।

कीर्तिपुर नगरपालिका–१ अमृतनगरका अधिकारीको पुरानो घर भने तनहुँ हो । सभागृहबाट करिब ४ किलोमिटरको दूरीमा रहेको घर जान त उहाँले पाउनुभएको छैन् । दिनहुँ नुहाउनुपर्ने, घरकै खाना मात्र खानुपर्ने, नियमित चेक गराउनुपर्ने, कार्यालय समयमा काम र अन्य बेला आराम गर्नुपर्ने उहाँको दिनचर्या अहिले उहाँबाटै गायब छ ।

भन्नुहुन्छ ‘कति बेला खाने, कति बेला सुत्ने, परिवारका सदस्यलाई भेट्ने, नियमित काम गर्ने भन्ने छैन । परिवारभन्दा पहिले आफूलाई दिएको जिम्मेवारीलाई महत्त्व दिएर काम गरिरहेको छु ।’उहाँलाई फेर्नका लागि घरबाट लुगा पठाइदिने गरेका छन् । उहाँले हातका औंला देखाउँदै भन्नुभयो, ‘नङसम्म काट्न पाएको छैन । अरू त कुरै छाडौं ।’

तपाईको प्रतिक्रिया