शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

सोसल मिडिया साइट ट्विटरलाई चिनिया माइक्रो ब्लगिङ साइट वेबोले समेत पछि पारेको छ । प्रयोगकर्ताको संख्याको हिसाबले ट्विटर चीनको सिना वेबोभन्दा पछि परेको हो ।

वेबोको चालु वर्षको पहिलो त्रैमासिकको रिपोर्ट अनुसार अहिले उसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३४ करोड रहेका छन् । पछिल्लो एक वर्षमा वेबोका प्रयोगकर्ताको संख्यामा ३० प्रतिशतले बढोत्तरी भएको पाइएको छ ।

रिपोर्ट अनुसार हरेक दिन १५ करोड ४० लाखले वेबो चलाउने गरेका छन् र त्यसमध्ये ९१ प्रतिशतले मोबाइल फोनमा वेबो चलाउँछन् । उता चीनमा प्रतिबन्धित ट्विटरका भने विश्वभर गरी ३२ करोड ८० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

वेबोका प्रमुख कार्यकारी गाओफेइ वांगले वेबोलाई चीनमा सर्वोत्कृष्ट सोसल मिडिया बनाउने आफुहरुको अथक प्रयास सार्थक भएको बताएका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा ७३ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन् । ती मध्ये ९० प्रतिशतले मोबाइलमा इन्टरनेट चलाउने गरेका छन् ।

वेबो चीनमा सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ साइट हो र चीनमा प्रमुख मिडियाहरुको वेबो अकाउन्टमा दशौँ लाख फलोअर्स हुने गरेका छन् । गत वर्षमात्र वेबोले आफ्नै भिडियो स्ट्रिमिङ एप इझिबो ल्याएको थियो ।

पछिल्ला वर्षहरुमा मोबाइल मेसेन्जर एप वि च्याटले चीनमा सिना वेबोलाई चुनौति दिइरहेको छ । वेबोमा चर्चित इ कमर्श कम्पनी अलिबाबाको ३१।४ प्रतिशत शेयर रहेको छ । सन् २०१४ मा वेबोमा अनलाइन पेमेन्ट प्रणाली वेबो पेमेन्ट सुरु गर्नका लागि अलिबाबाले ठूलो लगानी गरेको थियो ।

स्मरण रहोस् चीनमा ट्विटर, फेसबुक, गुगल तथा यु ट्युब लगायतका साइट प्रतिबन्धित छन् ।

तपाईको प्रतिक्रिया