बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो–जापानी भाषा स्कुलमा अध्ययन गर्ने बिदेशी बिद्यार्थीहरुले कानुनमा तोकिए भन्दा बढि तथा अबैधानिक रुपमा काम गरेका समाचारहरु बाहिर आउन थालेपछि नयाँ आवेदकहरुको भिसामा कडाई गरिएको छ । बिशेष गरी ओकिनावा केनमा रहेका भाषा स्कुलहरु मार्फत अप्रिल सेसनको लागि निबेदन दिएका नेपाली बिद्यार्थीहरु मध्ये ३० प्रतिशतले मात्र सिओई प्राप्त गरेका छन । जसका कारण सो क्षेत्रका जापानी भाषा स्कुलहरु संकटमा परेको र कतिपय स्कुलहरुले शिक्षक तथा कर्मचारीहरु कटौती समेत गर्न थालेको खबर ओकिनावा टाइम्सले प्रकाशित गरेको छ । एकताका निबेदकको ९० प्रतिशत भन्दा बढिले भिसा पाएको भाषा स्कुलहरुमा समेत एक्कासी भिसामा कडाई गर्दा नयाँ आउने बिद्यार्थी, स्कुल र कर्मचारी सबै समस्यामा परेका हुन ।

३० प्रतिशत आवेदकलाई मात्र भिसा दिएकोले अप्रिल महिनादेखि जागिरको करार नबिकरण नहुने बताईएका एक भाषा प्रशिक्षकले आफु ठूलो मर्कामा परेको भाव पोखेको समाचारमा उल्लेख छ । बिदेशी बिद्यार्थी बिभाग सम्हालेका एक कर्मचारीले बिगतमा भाषा अध्ययनको लागि आएका बिदेशी बिद्यार्थीहरु बढि कामका कारण थाकेर आउने र अधिकांश कक्षामा सुत्ने गरेको र मुस्किलले २० प्रतिशत बिद्यार्थीहरुमा मात्र सांच्चै नै भाषा सिक्ने दृढ ईच्छा भएको बताए । जसले गर्दा कक्षा कोठाको बातावरण नै बिग्रने र पढ्न चाहने बिद्यार्थीलाई पनि सो बातावरण नहुने अवस्थाको सिर्जना हुने उनले अगाडि बताए ।

अर्कोतर्फ एक भाषा स्कुलका संचालकले भने आफ्नो स्कुल सरकारी अनुदान बिना संचालन भईरहेकोले सम्पूर्ण खर्च बिद्यार्थीको शुल्कबाट पुर्ति गर्नुपर्ने अवस्थामा एकाएक भिसामा कडाई गर्दा कर्मचारी कटौति मार्फत खर्च कटौति गर्नुको उपाय नभएको बताए । उनले सरकारले ३ लाख बिदेशी बिद्यार्थी पुर्याउने लक्ष राख्दै गर्दा यसरी भिसामा कडाई गरिनु आफैमा बिवादास्पद रहेको र सरकारले अनुदान दिनु पर्ने माग गरे ।

स्मरण रहोस, नेपाली लगायत बिदेशी बिद्यार्थीहरुलाई अबैधानिक काम लगाएको आरोपमा काम लगाउने कम्पनी मालिकहरुलाई पक्राउ गरिएका घटनाहरु पनि पछिल्लो समयमा बढ्दो छ ।
हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया