स्थानीय निर्वाचन र अपेक्षित नेतृत्व

लोकतन्त्रमा जनता सार्वभौम हुन्छन् । जनताले आफूमा निहित सार्वभौमसत्तालाई आवधिक निर्वाचन समयमा अमूल्य मत जाहेर गरेर आफ्ना प्रतिनिधि छनोट गर्दछन् र तिनै प्रतिनिधिलाई मुलुकको शासन सञ्चालनको जिम्मेवारी सुम्पन्छन् । यसरी अभ्यास हुने सार्वभौमसत्ताको प्रयोगमा आवधिक निर्वाचनमा विजय भएकाहरूसँग जति अवधिको लागि विजय भएको हो, सो अवधिभर जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने अधिकार रहन्छ ।

अहिले नेपालको संविधान २०७२ मा प्रावधान भएबमोजिम विभिन्न तहको निर्वाचनमा समाहित हुने अवसर जनतासमक्ष आईपुगेको छ । साविकका केन्द्रीकृत शासन प्रणालीबाट गठन भएका संरचना विस्थापित गरी नेपालको संविधानबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रको ढाँचामा नयाँ संरचनाहरूमा नेतृत्व गर्न निर्वाचन अपरिहार्य छ । अनिर्वाचितबाट निर्वाचित हुनेहरूले गर्ने काम गर्न खोज्नु निरंकुशता हो । त्यसैले सिंगो मुलुक निर्वाचनमा होमिएर संविधानले निर्धारण गरेको समयसीमाभित्र कार्यभार पूरा गरेर संविधान कार्यान्वयनमा इमानदार बन्नु सक्नु नै सबै नेपालीको प्रमुख कर्तव्य हो ।

आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको व्यग्र प्रतीक्षामा रहेका नेपाली जनता निर्वाचनबाट स्थापित हुने नेतृत्वप्रति बढ्ता आशावादी छन् । निर्वाचन नै सबैका लागि सही र समय सुहाउँदो एवं संविधानसम्मत लोकतान्त्रिक उपाय हो, जसले जनतामा जागरण ल्याएर नेतृत्व विकासको मार्ग प्रशस्त गर्दछ । नेपालको संविधानले परिकल्पना गरेका संरचनाहरूको पूर्णाकार प्रदान गर्दै जनताप्रति जिम्मेवार नयाँ नेतृत्वको क्रियाशीलतामा पनि निर्वाचनले प्राण भर्नेछ । त्यसैले २०७४ माघभित्र हुने तिनै तहका निर्वाचन मुलुकको लागि अपेक्षित कोसेढुंगा हुन् ।

यतिखेर स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको अवस्था छ । निर्वाचन आयोगले तयारी प्रारम्भ गरेको छ । उक्त आयोगसँग परिपक्व अनुभव छ । इतिहास रच्ने कार्यमा निर्वाचन आयोगको टिम सक्षम छ । जनताको विश्वास र सरकारको सहयोगबाट निर्वाचन आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ । सञ्चारमाध्यमको सही सूचना सम्प्रेषणबाट निर्वाचन आयोग अझ दृढ हुन सक्छ । यही वस्तुनिष्ठतामा उभिएर निर्वाचन सफल बनाउन हामी जुट्नुपर्छ ।

दुई दसकपछि नेतृत्व तहमा पुग्ने अवसर सिर्जना भएको छ । हजारौं इच्छुक नागरिक आफूलाई दरो नेताको रूपमा अघि सार्दै जनताको मत आकर्षित गर्न तम्सने अवस्था आएको छ । निर्वाचनमा सम्पूर्ण नेपाली होमिनुपर्छ । यसबाट नेपाल र नेपालीको भाग्यरेखा कोरिँदै जानेछ । हाम्रो सुन्दर देशलाई सम्पन्न देश बनाउने हामीले नै हो । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र साँस्कृतिक वैभवता भएर पनि आर्थिक दयनियता व्यहोर्नुपर्ने हाम्रो नियति बनेको छ ।

आर्थिक अवस्था सुध्रिन नसक्नुमा राजनीतिक दूरदर्शिता, इमान्दारिता र साहसपूर्ण क्रियाशिलताको अभावलाई औंल्याउने गरिन्छ । यो दोषबाट मुक्त हुन पनि आवधिक निर्वाचन नै अचुक विधि हो । यसबाट कोही भाग्न पाइँदैन । निर्वाचन नेतृत्व चयनको सही र सर्वमान्य तरिका हो । नेतृत्वको परीक्षण निर्वाचनमा हुन्छ । साक्षर मतदाता भएको अवस्थामा जनताको विवेकले नै नेतृत्वको हैसियत निर्धारण गर्छ ।

तर नेपाल जस्तो साक्षरताको स्तर कम भएको मुलुकमा सही नेतृत्व चयन गर्न जनताको सो विवेकलाई बाह्य तत्वले प्रभाव पार्ने गरेको पाइन्छ । कतिले मनी र मसलको मोभिलाइजेशनबाट मिराकल गर्न सकिन्छ भन्ने गरेको पनि सुनिन्छ । यी आशंकाका कुरा जे भए पनि नेतृत्व चयन गर्दा मूलभूत रूपमा हेर्नुपर्ने विषयमा सबैको ध्यान जानुपर्छ ।
सत्ता सञ्चालन गर्न पुग्ने नेतृत्व चयनको सन्दर्भमा उम्मेदवार हुने व्यक्तिको चरित्र र क्षमतालाई मसिनरी कसी लगाएर शुद्धताको मात्रा उच्च भएकालाई छान्न मत दिनुपर्छ । यस निम्ति मतदाता शिक्षा सघन रूपमा सञ्चालन गर्नुपर्छ । सार्वजनिक पदमा पुग्ने व्यक्तिको चरित्र निर्मल वा शुद्ध र क्षमता अब्बल हुन जरुरी छ । चरित्र र क्षमता दुवैमा अब्बल भएका व्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्छ ।

प्रश्न उठ्न सक्छ के हो चरित्र पक्ष ? र के हो क्षमता पक्ष ? कुनै पनि व्यक्तिको चरित्र पक्ष उसको सम्मान आर्जनको आधार हो र क्षमता पक्ष सेवा प्रवाहका लागि सक्षमताको जग हो । चरित्र पक्षमा राम्रो देखिन व्यक्तिमा इमान्दारिता अर्थात सत्य बोल्नु, सदाचारिता अर्थात बोलेको कुरा पुरा गर्नु, अनुशासन, परिपक्वता, फराकिलो मानसिकता, धैर्यता,नैतिकता, मेहनती, सेवाभाव, समभाव जस्ता गुण विद्यमान हुनुपर्छ । यस्ता गुणले व्यक्तिलाई भ्रष्ट हुनबाट जोगाउँछ । नेपाली समाजमा पदमा बसेका भ्रष्ट हुन्छन् भन्ने बुझाई छ ।
जन्मँदा कोही खराब वा भ्रष्ट हुँदैनन ।

हुर्कंदै बढ्दै जादा अविद्या वा लोभ वा मोहले भ्रष्ट बनाउने हो । चरित्र पक्ष उज्यालो भएका व्यक्ति भ्रष्टाचारदेखि डराउँछन् । आफैंभित्रको आध्यात्मिक चेतनाले चरित्र पक्षलाई सम्पोषण गरिरहेको हुन्छ । चरित्र निर्माण एक दिनको काम होइन । यसले निरन्तर आकार लिईरहने भएकाले चरित्रको चिनारी समाजमा भइरहेको हुन्छ । तसर्थ चरित्र केलाएर नेतृत्व छान्नुपर्छ । नेतृत्वलाई चरित्र मात्रै भएर पुग्दैन, क्षमता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नेतृत्व तहमा पुग्ने व्यक्तिसँग भविष्य हाँक्न सक्ने क्षमता हुनुपर्छ । अर्थात परिकल्पना, परिदृष्य, प्राप्तिको दूरदर्शिता निजमा हुनुपर्छ ।

जनताका माझमा जनताका साथमा जम्न, रम्न, गम्न सक्ने हुनुपर्छ । नेतृत्वमा पुग्ने व्यक्ति समाजको चरित्रसँग जानकार भएको, कुनै पनि परिस्थिति ग्रहण गर्न सक्ने, आफ्नो कार्यशैलीमा दृढ, विश्लेषण गर्न सक्ने क्षमता भएको, जनताको अभिमतबाट प्राप्त हुने ओहोदाको उपयोगमा प्रविणता भएको, सिद्धान्तनिष्ठ, जिम्मेवार, जवाफदेही, निर्णय क्षमता भएको, प्रभावशाली, जाँगरिलो जस्ता गुण हुनुपर्छ ।

यसैगरी क्षमताका अरू पक्षहरूमा काममा निरन्तर लागि रहने, सहनशील, दृढ इच्छाशक्ति, बौद्धिक, सिपालु, अग्र क्रियाशील, उद्देश्यमूलक, प्रविधि मैत्री, परिर्वतन उन्मुख, मेहनती, अन्वेषक, सिर्जनशील, जिज्ञासु, परिकल्पनाकार, अरूलाई बुझ्न सक्ने, कूटनीतिक, निर्देशन गर्न सक्ने, परिश्रमी, शारीरिक रूपले दुरुस्त, भाषा प्रविणता, कठोर, सहृदयी, उदार र कुद्न सक्ने, प्रतिकूल परिस्थितिलाई सम्हाल्न सक्ने, सञ्चार गर्न सक्ने, समर्पित, आदर्श, उत्प्रेरक, विज्ञ र साहसीपन पर्दछन् । क्षमता पक्षका थप गुणहरूमा निरन्तर अध्ययनशील, सेवाकेन्द्रीत, सकारात्मक, ऊर्जायुक्त, जनतालाई विश्वास गर्ने, सन्तुलित जीवन जिउन सक्ने क्षमता, शक्तिदाता, स्वयं नवीकरणको अभ्यास गर्ने क्षमता पर्दछन् । यिनै क्षमताका गुण भएका व्यक्तिहरू नेतृत्वमा अब्बल सावित हुन सक्छन् ।

उल्लेखित चरित्र र क्षमताका गुण भएका व्यक्ति नेतृत्वमा पुग्ने हो भने कार्य सम्पादनमा सकारात्मक परिर्वतन देख्न सकिनेछ । त्यसैले मतदाताले आफ्नो अमूल्य मत दिँदा चरित्र र क्षमता राम्रो भएका उमेदवारका पक्षमा दिनुपर्छ । चरित्र र क्षमता भएका व्यक्ति नेतृत्व गर्ने हैसियतमा पुग्दा दूरदृष्टि तय गर्ने, उत्प्रेरणा जगाउन सक्ने, उत्साहित बनाउने, प्रशंसा गर्ने, नतिजा दिएर सन्तुष्ट बनाउने, समन्वय गर्ने, काममा व्यस्त बनाउन सक्ने, ध्यानपूर्वक अरूका कुरा सुन्ने, परामर्श दिन सक्ने, प्रभाव पार्ने, सहयोग गर्ने, सरकार हाँक्न सक्ने, परिचालन गर्नसक्ने, नियन्त्रण गर्नसक्ने, सम्झाउन बुझाउन सक्ने, विकासको सपना देख्न सक्ने, संवाद गर्न सिपालुलगायतका कार्य गर्न सक्छन् । सबैको स्वीकार्य, प्रिय र सहृदयी बन्ने भनेकै चरित्र र क्षमताबाट हुने हो ।

ढोकैको सरकारका लागि नेतृत्वमा पुर्याउन आयोजना हुने स्थानीय तहको निर्वाचन सर्वसाधारणका लागि अति महत्वपूर्ण छ । निर्वाचन लोकतन्त्रको सञ्जीवनी हो । तसर्थ निर्वाचनवाट नेतृत्वमा चरित्रवान र क्षमतायुक्त व्यक्ति पुगेमा स्थानीय जनताले सरकारको सेवा पाउन सहज हुनेछ । तसर्थ आसन्न निर्वाचनमा चरित्र र क्षमताले सजिएका व्यक्तिलाई नेतृत्वमा पु¥याउन सके सबैका लागि श्रेयस्कर हुनेछ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित