बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – सरकारी सवारी साधन भाडामा लगाउने गरेको खुलासा भएको छ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आज बसेको बैठकमा सांसदहरुले सरकारी कार्यालय आफैले सरकारी सवारी साधन भाडामा लगाउने गरेको पाइएको बताएका हुन ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष एमालेका सांसद कमलादेवी महतोले सरकारी सवारी साधन भाडामा समेत दिने गरेको पाइएको उल्लेख गर्दै आपत्ति जनाउनु भयो । उहाँले सवारी साधनको मर्मतको नाममा लाखौं रुपैयाँ सरकारी कर्मचारीले नै असुल्ने गरेको पनि बताउनु भयो । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पहुँचको आधारमा सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको बताउनु भयो ।

उहाँले सरकारी सवारी साधनको दुरुपयोग रोक्न सरकारलाई कडा निर्देशन दिनुपर्ने बेला आएको पनि स्पष्ट पार्नु भयो । सांसदहरुले सरकारी सवारी साधनको दुरुपयोग अति धेरै हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रणमा लिन कडा कदम चाल्न सरकारसँग माग समेत गरेका छन । उनीहरुले सरकारी सवारी साधनको उचित व्यवस्थापन गर्न संसद आफैले अनुगमनको कामलाई तीव्र बनाउनुपर्ने धारणा समेत राखेका छन ।

समितिले सरकारी सवारी साधनको एकीन विवरण समेत सरकारसँग नरहेको व्यहोरासहितको अध्ययण प्रतिवेदननै तयार पारेको छ । सरकारी सवारी साधनको दुरुपयोग बढ्दै गएपछि संसदीय समितिले त्यस सम्बन्धमा अध्ययण गर्न उपसमितिनै बनाएको थियो ।

तपाईको प्रतिक्रिया