शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक आज बस्दैछ । पार्टी एकीकरणपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकको तयारी, निर्वाचन आयोगमा दल दर्ता र संविधान संशोधन विधेयकबारे छलफल गर्न अध्यक्ष मण्डलको बैठक बस्न लागेको हो ।

राजधानीको बिजुलीबजारस्थित तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकमा केन्द्रीय समितिको तयारी र निर्वाचन आयोगमा दल दर्ताबारे छलफल हुने सो पार्टीका नेता केशब झाले जानकारी दिनुभयो ।

राजपाको पहिलो केन्द्रीय समिति बैठक आगामी मंगलबार राजधानीमा बस्दैछ । पार्टी एकीकरणपछि पहिलो पटक बस्न लागेको पार्टीको केन्द्रीय समिति ५ सय भन्दा बढी सदस्यीय हुने नेताहरुले बताएका छन् ।

मधेश केन्द्रीत विभिन्न ६ दलका नेता कार्यकर्ताको समीकरण मिलाउनु पर्ने भएकाले तत्कालका लागि केन्द्रीय समिति सदस्य संख्या ठूलो भएको नेता झाले बताउनुभयो । संविधान संशोधन विधेयकबारे सरकारसँग सहमति भएपछि चुनावमा जाने घोषणा गरेको राजपाले निर्वाचन आयोगमा दल दर्ताको तयारी समेत गरेको छ ।

यस्तै आजको बैठकमा संविधान संशोधन बारे देखिएको जटिलता र पार्टी रणनीतिबारे पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया