शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – वल्र्ड डे १९९० को प्रस्तुति आधुनिक गीति एल्बम ‘लालीगुराँस’को बिमोचन गरिएको छ ।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा सार्थक डिजिटल म्यूजिक प्रा.लि.ले पत्रकार सम्मेलन गरेर उक्त गीति एल्बमको बिमोचन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानले उक्त गीति एल्बमको बिमोचन गर्दै नेपाली गीत मौलिक हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानले नेपाली गीत संगीत नेपाली जीवन र जगतमा आधारित रहेर निर्माण हुनुपर्नेमा जोड दिदै भन्नुभयो,‘ नेपाली गीत–संगीतको ईतिहास गौरवले भरिएको छ, हाम्रो देशको पहिचान भनेको नेपाली गीत संगीत पनि हो, त्यसैले गीतहरू राम्रा बन्नका लागि शब्द मौलिक हुनुपर्छ, पछिल्लो समय नेपाली गीत संगीतलाई आधुनिकता दिने नाममा अश्लिलतातर्फ धकेल्ने प्रयत्न भैरहेको छ, यस कार्यप्रति युवा सर्जकहरू गम्भीर हुनुपर्छ।’

रोहित बस्नेतको शब्द र शुरविर पन्तको संगीत रहेको उक्त गीति एल्बम बिमोचन कार्यक्रममा वरिष्ठ गायिका तारा थापालाई सम्मान गरिएको छ ।

सार्थक डिजिटल म्यूजिक प्रालिका प्रबन्धक जीवन पन्तले नेपाली गीत संगितको विकासका लागि विगत एक दशकदेखि निरन्तर लागि रहेको बताउदै भन्नुभयो,‘ हामी युवाहरू नेपाली गीत–संगीतको विकासको लागि रातदिन नभनी निरन्तर लागिरहेका छौँ, पछिल्लो समय नेपाली गीत संगीतलाई मौलिकता भन्दा पर धकेल्न काम भैरहेको छ, यसलाई निरुत्साहित बनाउनको लागि हामी लागि परेका छौँ, आज प्रेमध्वज प्रधानलाई साँक्षी राखेर ‘लालिगुराँस’को बिमोचन गरेका छौँ, यो शब्द मौलिक, राष्ट्रिय अस्तित्व बोकेको शब्द हो, यस्ता काममा हामी निरन्तर लागि पर्नेछौँ।’

गीतकार रोहीत बस्नेतले ‘लालिगुराँस’मा समावेश भएका अधिकांश गीतहरू सकारात्मक सन्देश दिने दाबी गर्नुभयो । चर्चित गायकहरु स्वरुपराज आचार्य, सन्तोस लामा, मेलिना राई, सागर पाण्डे, केशव बस्नेत र पविन गुरुङगको स्वर रहेको छ ।

तपाईको प्रतिक्रिया