बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो-जापानमा बिदेशीहरुको संख्यामा आएको बृद्धिसंगै उनीहरुबाट हुने गरेका अबैधानिक गतिबिधीहरुमा पनि बृद्धि भएको पाइन्छ । सन २०१६ मा जापानमा बिभिन्न अबैधानिक गतिबिधी गरेको आरोपमा १३ हजार ३६१ जना बिदेशीलाई देश निकाला लगायत बिभिन्न कार्बाहीहरु गरेको स्थानिय संचार माध्यामहरुले बताएका छन । त्यसमा पनि भियतनामी नागरिकहरुको संख्या तिब्ररुपमा बढेको उल्लेख छ ।

अबैधानिक गतिबिधीका कारण कारबाहीमा परेका मध्ये चिनिया नागरिक सबैभन्दा बढि रहेका छन । उक्त संख्या ४ हजार ६ जना रहेका छन । जसमा २ हजार २७३ जना सहित दोश्रो स्थानमा भियतनामी छन । भियतनामीको उक्त संख्या अघिल्लो बर्षको १ हजार ६४३ को तुलनामा ६३० अर्थात ३८.३ प्रतिशतले बृद्धि भएको छ । बार्षिक झण्डै ४० प्रतिशतमा बृद्धि भएको यो संख्याप्रति जापानको अध्यागमन तथा प्रहरी प्रसाशनले पनि चासोका साथ हेरेको पाइन्छ । भियतनामीहरुको सो संख्या सन २०१४ को तुलनामा २.४ गुणाले बृद्धि भएको हो ।

अबैधानिक गतिबिधीका कारण कारबाहीमा परेका बिदेशीहरुको संख्या सन २०१५ को १२ हजार २७२ जना बाट ८.९ प्रतिशत बृद्धि भई १३ हजार ३६१ जना पुगेको हो । उनीहरुले गर्ने प्रमुख अबैधानिक गतिबिधीहरुमा ओभरेस्टे-११ हजार १९८ जना, अबैध रुपमा प्रबेश-५९९ जना, तोकिए बाहेकको काम-५११ जना, आपराधिक गतिबिधी-४३२ जना, अबैध अवतरण-२३८ जना र अन्य-३८३ जना रहेका छन । कारबाहीमा परेका भियतनामीहरु मध्ये अधिकांश अबैध काम गर्नेहरु रहेको पनि समाचारमा उल्लेख छ ।

स्मरण रहोस, पछिल्लो संख्यामा नेपालीहरुको संख्या पनि तिब्र रुपमा बृद्धि भईरहेको छ । यससंगै बिभिन्न घटनामा संलग्न भएको कारण पक्राउ पर्ने नेपालीको संख्या पनि बृद्धि भएको पाइन्छ र नेपालीको गतिबिधीलाई पनि जापान प्रहरीले बिशेष निगरानी राख्ने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया