शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्र चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तहको निर्वाचनमा चितवनबाट हुने उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा सुरेन्द्र गुरुङलाई पार्टीले उम्मेदवार बनाएको छ । दाहाल नेकपा माओवादी केन्द्र का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको छोरी हुनुहुन्छ । यसैगरी रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्णबहादुर अम्गाइ र उपप्रमुखमा सङ्गीता भट्टराई, खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती, राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा, माडी नगरपालिकाको प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतो, कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामालाई उम्मेदवार बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसैगरी जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमासावित्री सिलवाललाई उम्मेदवार बनाएको छ । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख पदकी उम्मेदवार दाहालले २० वर्षपछि आफ्नो गृहजिल्ला चितवन फर्किएको बताउनुभयो । आफूलाई पुषपकमल दाहालपुत्रीका रुपमा मात्रै नहेरेर रेणु दाहालका रुपमा हेर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “रेणु दाहाल दाहालपुत्री मात्रै होइन, आफै मा रेणु दाहाल हो ।” प्रवेशिका परीक्षा दिँदा दिँदै जनयुद्धमा होमिएको भन्दै उहाँले १० वर्ष जनयुद्धमा होमिएको, पार्टीबाट काठमाडौँ जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेको, अनेमसङ्घ क्रान्तिकारीको महासचिवको रुपमा रहेर नेतृत्व गरिरहेको, पोलिटब्यूरो सदस्यको रुपमा काम गरिरहेको, संविधानसभामा समानुपातिक सांसद भएर भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो ।

चुनावको लागि मात्रै आफू चितवन नआएर अबको आफ्नो राजनीति चितवनबाटै गर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् चितवन जिल्ला निर्वाचन परिचालन समितिका संयोजक नारायण दाहालले उम्मेदवारको टुङ्गो लगाएसँगै आजबाट अन्य दलहरुसँग तालमेलका विषयमा छलफल अगाडि बढाउने बताउनुभयो ।  माओवादी केन्द्रले यसअघि नै जिल्लाका सबै वडा अध्यक्ष र सदस्यको टङ्गो लगाएर सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया